रुकुम पश्चिमको बहुचर्चित सोती घटनामा उच्च अदालत सुर्खेतले सबै प्रतिवादीलाई जातीय विभेद मुद्दामा सफाइ दिएको छ। तर, हत्या अभियोगमा २३ जनाको जन्मकैदको फैसला भने यथावत् राखेको छ।
नवराज विकसहित ६ जनाको हत्या अभियोगमा थुनामा रहेका २४ जनामध्ये एक नाबालक प्रतिवादीलाई अदालतले पूर्ण सफाइ दिएको हो। ती नाबालकमाथि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी मात्र मुद्दा दर्ता गरिएको थियो। सो मुद्दामा सफाइ पाएसँगै उनी पुर्पक्ष मुक्त भएका छन्।
अन्य २३ जना प्रतिवादीहरू भने जातीय विभेदसँगै ज्यान मार्ने र कर्तव्य ज्यान मुद्दामा पनि दोषी ठहर भएका थिए। उच्च अदालतले उनीहरूलाई जातीय विभेद मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५ गते सुनाएको जन्मकैदको फैसला सदर गरेको हो।
२०७७ साल जेठ १० गते जाजरकोटका नवराज विक आफ्नी प्रेमिका ठकुरी थरकी युवतीसँग विवाह गर्न चौरजहारी पुगेका थिए। तर, गाउँलेहरूले उनीसहित गएका १८ जनामध्ये ६ जनालाई कुटपिट गर्दा ज्यान गएको थियो।
प्रकाशित: १६ वैशाख २०८२ १९:३५ मंगलबार





