गत १० भदौको विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले अब उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले उनीहरूलाई विद्यालय तहदेखि उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अघि बढाएको हो। पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको छ। त्यसपछि प्रभावित बालबालिकाको पहिचान गर्दै क्रमशः थप विद्यार्थीलाई विभिन्न चरणमा छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यसअघि नै ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गरी बाढीमा अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रक्रिया अघि बढाइसकेको थियो। अब उनीहरूको उच्च शिक्षालाई समेत निःशुल्क बनाउने गरी थप व्यवस्था गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
‘पहिलो चरणमा २७ जनालाई छात्रवृत्ति दिइनेछ। यसपछि पनि क्रमशः पहिचान गर्दै चरणबद्ध रूपमा छात्रवृत्ति उपलब्ध गराउनेछौँ,’ मन्त्री पोखरेलले भने।
प्रस्तावित व्यवस्थाअनुसार निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिलेख शिक्षा विभागले राख्नेछ। त्यसका लागि सम्बन्धित विद्यालयका छाता संस्था र स्थानीय तहलाई पत्राचार गरिनेछ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हकमा भने सम्बन्धित स्थानीय तहलाई पत्राचार गरी आवश्यक व्यवस्था मिलाइनेछ।
त्यस्तै, उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय तथा क्याम्पसमा नियमित रूपमा उपलब्ध हुने छात्रवृत्ति कोटामा थप गरी समावेश गर्न मन्त्रीस्तरीय निर्णयबाट निर्देशन दिइएको छ। यसका लागि मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक व्यवस्था मिलाउनेछ।
यो निर्णय कार्यान्वयनमा आएसँगै भोटेकोशी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले विद्यालय तहदेखि उच्च शिक्षासम्म आफूले चाहेको विषय अध्ययन गर्न निःशुल्क छात्रवृत्ति पाउनेछन्। विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था अघि बढाएको हो।
प्रकाशित: २१ कार्तिक २०८३ १९:५७ शनिबार





