भक्तपुरको सूर्यविनायक नगरपालिका–९ काक्राबारीस्थित घिसिङ डाँडामा वन क्षेत्र अतिक्रमण गरी निजी प्लटिङ कार्य भइरहेको भन्दै स्थानीय आन्दोलित भएका छन्।
एकै ठाउँमा दैनिक ३० भन्दा बढी डोजर तथा एक्स्काभेटर चलिरहे पनि सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीयले आपत्ति जनाएका हुन्।

स्थानीयले साबिक नंखेल गाविस वडा नं-४ ‘क’ र ‘ख’ मा पर्ने उक्त क्षेत्रमा भित्री सामुदायिक वन मिचिँदै आएको बताएका छन्। प्लटिङका कारण जंगल क्षेत्र, खानेपानीको मूल, पाटी, कुलो, बाटो, पाइपलाइन, खोला लगायत संरचना ध्वस्त भएको उनीहरूको आरोप छ।
स्थानीयको जीवनमा प्रत्यक्ष असर
स्थानीयका अनुसार परम्परादेखि प्रयोग हुँदै आएको खोल्साखोल्सी डोजरले पुरिँदा बर्सातमा बाढी तथा पहिरोको जोखिम अत्यधिक बढेको छ।

घिसिङ टोलमा सञ्चालनमा आएको आयोजना मुनि रहेको लामाटोल अति जोखिममा परेको छ। उनीहरूले बताएअनुसार जबरजस्ती जनताको जग्गा खनिएको, घर सार्न बाध्य बनाइएको, वन क्षेत्रभित्र सयौं रुखहरू काटिएको, सार्वजनिक बाटो मासिएको र जैविक विविधता खतरामा परेको छ।
संघर्ष समिति गठन
स्थानीयले प्रेमबहादुर तामाङको अध्यक्षतामा सङ्घर्ष समिति गठन गरी आन्दोलनको तयारी थालेका छन्।
समितिका उपाध्यक्ष एकराज तामाङ, सचिव सुनिल तामाङ डोङलगायत सदस्यहरूले सरोकारवाला निकाय-जिल्ला प्रशासन, वन कार्यालय, नगरपालिका र वडा कार्यालयलाई ज्ञापन पत्र बुझाइसकेको बताएका छन्। तर अहिलेसम्म कुनै पनि निकायले ठोस कदम नचालेको उनीहरूको आरोप छ।

सङ्घर्ष समितिका अध्यक्ष तामाङका अनुसार हालसम्म ६०–६५ घरधुरीलाई खानेपानी आपूर्ति गर्ने पाइपलाइन अवरुद्ध भइसकेको छ। २० रोपनीभन्दा बढी वन तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको उनले जानकारी दिए।
साथै, डोजर प्रयोग गरेर खेतसमेत अनुमतिविना सम्म्याइएको, बाली नलगाउने गरी माटो पुरिएको र पहाड खोतलिँदा प्राकृतिक स्वरुप नै बिग्रिएको स्थानीयको गुनासो छ।
सरोकारवालाको मौनता
वडा अध्यक्ष भगवान् खत्रीले प्लटिङ कम्पनी निक भुजिकिक हाउजिङले वडाको सिफारिसमा सार्वजनिक सुनुवाइ गरेर काम गरिरहेको दाबी गरे। तर स्थानीयले भने यो गैरकानुनी रुपमा सामुदायिक र सरकारी वन मिचेर गरिएको प्लटिङ भएको भन्दै विरोध जनाएका छन्।

स्थानीयका अनुसार वन समितिका पदाधिकारी समेत मौन बसेको कारण विरोधको आवाज कमजोर बनेको छ। आरोप छ- समितिलाई हाउजिङ कम्पनीले २ लाख ६० हजार रुपैयाँको चेक बुझाएको थियो। वन अध्यक्ष रामकृष्ण तामाङले भने उक्त चेक लिए पनि स्थानीयको विरोधपछि रकम नबुझेको बताए।
के भन्छ कम्पनी ?
हाउजिङ कम्पनीका निर्देशक डिल्ली बराइलीले आफूहरूले नाफामुखी उद्देश्य मात्र नराखी समुदायको हितमा पनि काम गरिरहेको दाबी गरे।
उनले कम्पनीको ८० प्रतिशत क्षेत्रमा स्थानीय तहको अनुमति लिएर डोजर चलाएको बताए। यद्यपि, वातावरणीय प्रभाव मूल्याङ्कन तथा वन र आवाससम्बन्धी अन्य आधिकारिक अनुमति भने प्रक्रियामा रहेको उनले सुनाए।

बराइलीले चारवटा गुठीका प्रतिनिधिसँग सहमति लिएर काम गरेको दाबी गर्दै भने- ‘‘सबैको माग पूरा गर्न हामी सक्षम छैनौं, तर यस क्षेत्रलाई आधुनिक गाउँको नमुना बनाउन काम गरिरहेका छौं।’’ पहिलो चरणमा करिब १ अर्ब लगानीमा ४ सय रोपनी क्षेत्रमा प्लटिङ आयोजना सञ्चालनमा रहेको उनले जानकारी दिए।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र प्रवक्ता रवीन्द्र सापकोटाले भने यो विषयमा कुरा गर्न चाहेनन्। आफूहरू ‘व्यस्त’ भएको भन्दै पछि कुरा गर्ने बताए।
उक्त आयोजनास्थल भक्तपुरको साँगा झोलुङ्गे पुलबाट करिब १०–१२ किलोमिटर माथि रहेको, वन क्षेत्रले भरिएको दुर्गम पहाडी भूगोलमा पर्दछ। यस क्षेत्रको अधिकांश बस्ती तामाङ समुदायको रहेको छ।
प्रकाशित: १६ वैशाख २०८२ १८:४८ मंगलबार