सुनसरीको धरान उपमहानगरपालिका–८ बाट चोरी भएको बस मंगलबार विराटनगरमा फेला परेको छ।
धरान–८ स्थित ग्यारेजमा पार्क गरिएको सिद्धदेवी यातायातको प्रदेश १–०२–००१ ख ९७४९ नम्बरको बस वैशाख १२ गते शुक्रबार हराएको थियो।
खोजतलासका क्रममा सो बस विराटनगर–१२ स्थित मंगलबार चोक नजिकको खुला चौरमा फेला परेको मोरङका प्रहरी प्रवक्ता डिएसपी मदन केसीले जानकारी दिए।
उनका अनुसार बस फेला पर्दा चारवटै चक्का, इन्जिनलगायतका पार्टपुर्जा निकालिएको अवस्थामा भेटिएको हो। बसको भित्रका सामान चोरी गरी बिक्री गरिएको खुल्न आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
अनुसन्धानको क्रममा ती सामान विराटनगर–६ मा गीतादेवी साहले सञ्चालन गरेको मन्टु आइरन स्टोर कवाडी पसलमा फेला परेको डिएसपी केसीले बताए।
बसका चोरी भएका सामान खरिद गरी बिक्री गर्ने समूह फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। कवाडी पसल सञ्चालक गीतादेवी साहमाथि पनि अनुसन्धान सुरु गरिएको छ।
प्रकाशित: १६ वैशाख २०८२ १६:१४ मंगलबार




-600x400.jpg)
