लहान नगरपालिका–१२ स्थित धार्मिक वन सलहेश फूलबारीमा ‘अम्बेडकर पार्क’ को शिलान्यास भएको छ। भारतमा सामाजिक विभेदविरुद्ध सङ्घर्षको नेतृत्व गरेका बाबासाहेब भीमराव अम्बेडकरको सम्मानमा यो पार्क निर्माण गरिँदै छ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार संयुक्त रूपमा पार्कको शिलान्यास गरेका हुन्। मधेस प्रदेश सरकारको ८० लाख रुपैयाँ लागतमा डिभिजन वन कार्यालय लहानले आगामी असार १५ भित्र पार्क निर्माण सक्ने लक्ष्यसहित काम अगाडि बढाएको छ।

मुख्यमन्त्री सिंहले सलहेश फूलबारी क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि ‘मास्टर प्लान’ सहित योजना अघि बढाइएको बताए। ‘‘अम्बेडकर पार्क निर्माणले धार्मिक, सांस्कृतिक पर्यटनमा नयाँ आकर्षण थपिनेछ,’’ उनले भने।
मुख्यमन्त्री सिंहका अनुसार, पार्क निर्माणले छिमेकी भारतका पर्यटकहरूलाई समेत आकर्षित गर्नेछ। उनले थपे, ‘‘अम्बेडकरको नाममा पार्क बनेपछि यहाँका दलित तथा सीमान्तकृत समुदायको आत्मसम्मान बढ्नेछ र सबैलाई प्रेरणा मिल्नेछ।’’

पार्कभित्र बाबासाहेब अम्बेडकरको पूर्ण कदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, भव्य प्रवेशद्वारलगायत संरचना निर्माण गरिनेछ।
सलहेश फूलबारी नौ बिघा क्षेत्रफलमा फैलिएको छ। पार्क निर्माण सहज बनाउन मन्दिरका पुजारी तथा स्थानीय जीतेंद्रदेव धामीले फूलबारीसँगै जोडिएको आफ्नो १० घुर जमिन दान गरेका छन्।
प्रत्येक नयाँ वर्ष (वैशाख १ गते) सलहेश फूलबारीमा मेला लाग्ने चलन छ। मेलाको मुख्य आकर्षण हारमको रुखमा फुल्ने माला आकारका फूलहरू हुन्। ती फूलहरू हेर्न र सलहेशर तथा दौना मालिन मन्दिरमा पूजापाठ गर्न नेपाल र भारतका हजारौं भक्तजन यहाँ आउने गर्छन्।
सन् १९४७ मा भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष निर्वाचित भएका बाबासाहेब भीमराव अम्बेडकरले अनुसूचित जातिमाथिको भेदभाव अन्त्य गर्न र समानताको संरक्षणका लागि विशेष संवैधानिक प्रबन्ध गरेका थिए।
अम्बेडकरले बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स, लण्डन युनिभर्सिटीबाट ‘डाक्टर अफ अल साइन्स’ उपाधि प्राप्त गरेका थिए। उनको सालिक लण्डनको म्युजियममा कार्ल मार्क्सको सालिकसँगै राखिएको छ।
कोलम्बिया विश्वविद्यालयले सन् २००४ मा विश्वभरिका एक सय महान् व्यक्तित्वहरूको सूची तयार गर्दा अम्बेडकरलाई पहिलो स्थानमा राखेको थियो।
मानवताका क्षेत्रमा उनको योगदानलाई कदर गर्दै विश्वका विभिन्न स्थानहरूमा अम्बेडकरका सालिकहरू स्थापना गरिएको छ।
प्रकाशित: १५ वैशाख २०८२ २१:३९ सोमबार