जिल्लाको विकट पहाडी भेगको लिमचुङबुङमा आगलागी हुँदा एक घर जलेर ध्वस्त भएको छ। शनिबार दिउँसो वडा नं. ३ पाप्रेस्थित बमबहादुर तामाङको ढुङ्गा माटोले बनेको सिमेन्टको प्लास्टर गारो र जस्तापाताको छानो भएको घर पूर्ण रूपमा ध्वस्त भएको छ।
आगोले घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, कागजात, गरगहना र अन्य जिन्सीलगायत सबै सम्पत्ति जलेर नष्ट भएको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार घरकै विद्युत् सर्ट भएर आगलागी भएको हो। बाराहास्थित इलाका प्रहरी कार्याल्य लिमचुङबुङबाट गएको टोलीले स्थानीयको सहयोगमा साँझ ६ः३० बजे आगो नियन्त्रणमा आएको थियो।
घट्नास्थलको सर्जमिन मुचुल्का गर्न प्रहरी टोली आइतबार विहान गएको छ। स्थानीयको अनुमान अनुसार लगभग १० लाख क्षति भएको आँकलन गरिए पनि यकिन क्षति भने प्रहरी सर्जमिनले गर्ने जनाइएको छ।
लिमचुङबुङमा आगलागीको घट्ना यो दोस्रो हो। यसअघि वडा नं. ४ को बलम्ता छाताङमा डढेलोबाट उम्केको आगो बस्ती पसेर आगलागी हुँदा एक घर, २ गोठ जलेर आधादर्जन खसी बाख्रा, ३ वटा सुङगुर क्षति भएको थियो।
प्रकाशित: १४ वैशाख २०८२ ११:१४ आइतबार




