पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ। राजमार्गको पर्वत खण्ड कालोपत्र भएको दुई वर्षपछि पुल निर्माण सुरु भएको हो।
पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले जानकारी दिए। उनका अनुसार तीन महिनादेखि पुल निर्माण सुरु गरिएको हो। अस्सी मिटर लामो उक्त पुलको चौडाइ ११ मिटर हुनेछ। डबल स्पानको उक्त पुल सामान्य पुलभन्दा लामो भएकाले दुईवटा स्पान बनाएर निर्माण गर्न थालिएको हो।
पुल निर्माणका लागि २०७९ भदौमा लुम्बिनी–प्राकृतिक जेभी काठमाडौँसँग सम्झौता भएको थियो। यो निर्माण कम्पनीसँग पर्वत र बागलुङको गरी एकैपटक पाँच पुल निर्माणका लागि सम्झौता भएको भए पनि हालसम्म पर्वत खण्डको तमादीखोलामा मात्र पुल निर्माण सम्पन्न भएको छ। दोस्रो पुल निर्माण सुन्दरेखोलामा सुरु भएको इञ्जिनियर मिश्रले जानकारी दिए।
इञ्जिनियर मिश्रका अनुसार नौ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुने सो पुलको निर्माण अवधि आगामी भदौसम्म छ। निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई पर्याप्त मजदुर र उपकरण परिचालन गर्न भनिएको छ। हालसम्म पुलको एकतर्फको पिलरको काम सम्पन्न भई अर्कोतर्फको भागमा काम भइरहेको छ। समग्रमा अहिलेसम्म १० प्रतिशत प्रगति भएको छ। उक्त खोलामा पुल नहुँदा दुई वर्षअघि बाढीले बगाएर दुई जनाको ज्यान गएको थियो। हिउँदमा यातायात सहज भए पनि वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। यो सडक हुँदै बागलुङ, म्याग्दी, मुस्ताङ र रुकुमका लागि सवारीसाधन आवतजावत गर्छन्।
धेरै सङ्ख्या र उच्च भारवहन क्षमताका सवारीसाधन सो राजमार्गमा सञ्चालन हुने भएकाले आर्क प्रविधिको पुल निर्माण गर्न लागिएको हो। यो पुल अन्य मोटरेबल पुलभन्दा बलियो, टिकाउ, उच्च भारवहन क्षमतायुक्त र कम मर्मत चाहिने खालको रहेको इञ्जिनियर मिश्रको भनाइ छ। पर्वतमा अझै दुई पुल निर्माण बाँकी छन्। मोदी गाउँपालिकाको पातीखोला र मोदीखोलामा दुईवटा पुल निर्माण गरिनेछ।
कार्यालय प्रमुख शम्भु आचार्यका अनुसार मोदीखोलामा ६२ मिटर र पातीखोलामा हाल भएको पुलको दुवैतर्फ ५२–५२ मिटर लामो दुईवटा पुल निर्माण हुनेछन्। उक्त पुलको डिजाइन स्वीकृतिमा ढिलाइ भएकाले निर्माणले गति लिन नसकेको उनले बताए। उक्त निर्माण कम्पनीले बागलुङको काठेखोलामा पनि मोटरेबल पुल निर्माण गर्न लागेकाले सबै मोटरेबल पुलको लागत ४४ करोड १५ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडक दुई वर्षअघि दुई लेनको स्तरोन्नति भइसकेको छ। सडक दुई लेनको भए पनि पुराना सिङ्गल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप्ने योजना रहेको कार्यालयले जनाएको छ। रासस
प्रकाशित: १४ वैशाख २०८२ ०८:३९ आइतबार





