२६ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

पोखरामा एक अर्ब २९ करोड लागतमा तीन ठूला खानेपानी आयोजना निर्माण हुँदै

कास्कीको पोखरा महानगरपालिका–११, २१ र ३३ मा तीन ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन्।

पोखरा–११ मा जलवायु अनुकूलित बृहत् आयोजनाअन्तर्गत काँहुधरहरा खानेपानी आयोजना, पोखरा–२१ र ३३ लाई समेट्ने केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत बृहत् भरतपोखरी–निर्मलपोखरी–कृष्ती खानेपानी आयोजना र मट्टीखान खानेपानी आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ। आयोजना निर्माण, सञ्चालन र कार्यान्वयन गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र तीनवटै खानेपानी आयोजनाका अध्यक्षले बिहीबार त्रिपक्षीय समझदारी गरेका छन्।

लागत साझेदारीमा बन्ने यी आयोजनामार्फत काहुँडाँडा, कृष्ती, भरतपोखरी, निर्मलपोखरी, मट्टीखानलगायत क्षेत्रमा खानेपानीको सहज सेवा पुग्नेछ। बृहत् भरतपोखरी–निर्मलपोखरी–कृष्ती खानेपानी आयोजनाको कुल लागत ५१ करोड ७७ लाख ७६ हजार रुपैयाँमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाख ९१ हजार रुपैयाँ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा छ।

काँहुधरहरा खानेपानी आयोजनाका लागि ४९ करोड १७ लाख रुपैयाँमध्ये २१ करोड ६ लाख २४ हजार रुपैयाँ र मट्टीखान खानेपानी आयोजनाको २८ करोड ५४ लाख ६५ हजार रुपैयाँमध्ये १९ करोड ७६ लाख ४१ हजार रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ। समझदारीअनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गएपछि चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाले कुल लागतको १० प्रतिशत रकम बेहोर्नेछ। तीनवटै आयोजनाको कुल लागत १ अर्ब २९ करोड ४९ लाख ५८ हजार रुपैयाँ लाग्ने अनुमान छ। आयोजनाको कुल लागतको ९० प्रतिशत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले खर्च गर्नेछ।

बृहत् भरतपोखरी–निर्मलपोखरी–कृष्ती खानेपानी आयोजनाअन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी सङ्कलन तथा प्रशोधन गरी १७ किमी सिमलेससहित ३५ किमी पाइपमार्फत उपभोक्ताको घरघरमा पानी पुर्‍याइने आयोजना प्रमुख क्षेत्रीले बताए। यो आयोजनाबाट करिब २ हजार ४०० घरपरिवार लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले जानकारी दिए।

यो आयोजनामा २००, १००, ७५, ५० र २० घनमिटरका ११ पानी ट्याङ्की निर्माण हुनेछन्। यस्तै, काँहुधरहरा खानेपानी आयोजनामा काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ किमी पाइपलाइनमार्फत उपभोक्ताको घरघरमा पानी पुर्‍याइने छ। करिब एक हजार ५०० घरपरिवार लाभान्वित हुने यो आयोजनाअन्तर्गत ३०० घनमिटरको एक र १०० घनमिटरका दुईवटा ट्याङ्की निर्माण गरिनेछ।

मट्टीखान खानेपानी आयोजनाअन्तर्गत सेतीखोलाबाट पानी पम्पिङ गरी स्याङ्जाको फेदीखोला गाउँपालिकाको नुवाकोटमा पानी सङ्कलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिनेछ। यो आयोजनामा ३५ किमी पाइपलाइन विस्तार हुनेछ। विभिन्न ठाउँमा १५० र ३५ घनमिटर क्षमताका आठवटा पानी ट्याङ्कीमार्फत आयोजनाले एक हजार २०० घरपरिवारलाई पानी वितरण गर्नेछ।

चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्नेगरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गत फागुनमा बोलपत्र आह्वान गरिसकेको छ। तीनवटै आयोजना सम्पन्न भएपछि ५ हजार घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन्। आयोजना कार्यान्वयन भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ। ‘एक घर, एक धारा’ लक्ष्यअनुसार यी आयोजना निर्माण हुन लागेका हुन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीलाई आधारभूत खानेपानीको उपलब्धताका लागि महानगर प्रतिबद्ध रहेको बताए। महानगर क्षेत्रमा सङ्घ, प्रदेश र महानगरस्तरीय विभिन्न आयोजना सञ्चालन भइरहेको उनको भनाइ छ।

‘पोखरा महानगरपालिकाको भूगोल विविधतायुक्त छ, यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेग छन्, सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुन नसकेको बेला यी आयोजना सञ्चालनको चरणमा पुगेका छन्,’ उनले भने, ‘ठूलो लगानीका आयोजनामा जनसहभागिता जुटाउन कठिन छ, तसर्थ नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि यो दायित्व महानगरले लिनुपर्छ भन्ने मान्यतासहित हामीले प्रतिबद्धता र अग्रसरता लिएका छौँ।’

‘जी टु जी’ अवधारणामा उपभोक्ताले बेहोर्नुपर्ने १० प्रतिशत जनसहभागिताको रकम महानगरपालिकाले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई उपलब्ध गराउने महानगर प्रमुख आचार्यले बताए। रासस

प्रकाशित: १४ वैशाख २०८२ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App