मटिहानी–८ की खुश्वु यादव अहिले घर नजिकै मिथिला पेन्टिङ सिक्दै छन्। उनसहित ३० किशोरीलाई मटिहानी नगर कार्यपालिका कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले यो अवसर दिएको हो। भर्खर १७ वर्ष पुगेकी यादवको एकमहिने मिथिला पेन्टिङ तालिम सिकेर यो सीपबाट आत्मनिर्भर बन्ने सपना छ।
‘यहीँकै राम माविमा १२ कक्षामा पढ्दै छु, अहिले मिथिला पेन्टिङ सिक्ने अवसर पाएँ, यो सीपमा जम्ने मेरो सपना छ,’ यादव भन्छिन्, ‘मिथिला पेन्टिङको विश्वव्यापी चर्चा छ, म यसमा दक्षता बढाउन चाहन्छु।’
माध्यमिक तहमा पढ्ने किशोरीका लागि सीप सिकेर मिथिला पेन्टिङलाई व्यवसाय बनाउन सकून् भन्ने उद्देश्यले नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले एकमहिने तालिमको व्यवस्था गरेको हो। तालिम सुरु भएसँगै किशोरीहरू तन्मयसाथ सिक्न उत्साहित छन्।
‘औपचारिक तालिम सुरु भयो, मिथिला पेन्टिङबारे सुनेकी थिएँ, तालिमले थप कुरा सिकायो,’ मटिहानी–६ की १६ वर्षीया रञ्जु साह भन्छिन्, ‘यो तालिमले धेरै कुरा सिकाउने विश्वास छ।’ खुश्वुजस्तै साहको पनि सीप सिकेर मिथिला पेन्टिङमा व्यावसायिक रूपमा लाग्ने रहर छ।
मटिहानी नगरपालिकाका बजार क्षेत्र समेट्ने वडा नं ६, ७ र ८ का विद्यालयमा पढ्ने १३ देखि १९ वर्ष उमेर समूहका किशोरीलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए।
‘मुख्य उद्देश्य आर्थिक उपार्जनमा महिला आफैँ सहभागी हुने अवस्था बनाउनु हो, बजार क्षेत्रका किशोरीले सीप सिकेर व्यवसाय सञ्चालन गर्न सकून् भनेर तालिममा सहभागी गराइएको हो,’ नगरप्रमुख मण्डल भन्छन्, ‘यसले अरूलाई पनि प्रेरणा दिने हाम्रो विश्वास छ।’ यो कार्यक्रम बालविवाहविरुद्धको अभियानको निरन्तरता पनि हो।
‘हामी योजनाबद्ध रूपमा बालविवाह पूर्ण नियन्त्रण गर्ने अभियानमा छौँ, पछिल्ला तीन वर्षदेखि छोरी शिक्षा, निरक्षरता उन्मूलन, सामाजिक जागरण र सीप अभिवृद्धिका कार्यक्रमले निरन्तरता पाएका छन्,’ मण्डलले भने, ‘यी प्रयासले राम्रो सफलता पाएको छ।’
तीन वर्षअघि ८०० बालविवाहका घटना भएको सम्झँदै मण्डलले बालविवाहविरुद्धका घनिभूत कार्यक्रमले यस्ता घटना कम भएको बताए। चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म नगर क्षेत्रमा बालविवाहका कुनै घटना नभएको उनको भनाइ छ।
मटिहानी नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत निरक्षरता उन्मूलन अभियान सञ्चालन गरेको थियो। यो अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षामा जोडियो र किशोरवय पार गरेकाहरूलाई घरबस्तीमै अनौपचारिक शिक्षा दिइयो। यो अभियानको सफलताले नगरलाई साक्षर घोषणा गरिएको मण्डलले बताए।
हाल सञ्चालित एकमहिने मिथिला पेन्टिङ तालिममा सहभागी किशोरीहरू बालविवाहविरुद्धका अभियन्ता पनि हुन्। तालिमका सहभागीले बालविवाहलाई निरुत्साहित गर्नु र सीप सिकेर आत्मनिर्भर बन्नु मुख्य उद्देश्य रहेको बताए। मटिहानी–७ की १७ वर्षीया प्रिया ठाकुर भन्छिन्, ‘मिथिला पेन्टिङ आर्जनको सम्भावनायुक्त सीप हुने विश्वास छ।’ रासस
प्रकाशित: १४ वैशाख २०८२ ०७:०८ आइतबार





