१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ह्याप्पी बर्थडे सोनिस!

२०७२ वैशाख १२ को भूकम्पमा जीवन जोगाएकाको कथा खोज्ने क्रममा सोनिस अवाललाई कसले बिर्सन्छ र ? चार महिनाका बालक २२ घण्टासम्म पुरिएर सकुशल उद्धार गरिएको घटनाले संसारको ध्यान खिचेको थियो। भूकम्पले संसारलाई रुवाइरहेको समयमा धुलाम्मे अनुहारका सोनिसको जीवनले धेरैलाई आशावादी बनायो।

२२ घण्टासम्म पुरिएर सकुशल उद्धार गरिएका चार महिने बालक 

तिनै सोनिसको समाचार खोज्न वैशाखको पहिलो साता भक्तपुरको मूलढोकास्थित उनको घरमा पुगियो। अवालको धुलाम्मे अनुहार मनमा लिएर ढोकाको घण्टी बजाए। घण्टी बजेको एकै छिनमा ढोकाबाट उज्यालो चियायो। मन्द मुस्कानका साथ कसलाई खोज्नु भयो भनेर सोध्ने बालकले ‘म नै सोनिस हुँ’ भनेर परिचय दिए। १० पूरा भएर ११ वर्ष लागेका सोनिस बिहानको घामजस्तै चम्किला देखिए।

‘मैले हजुरलाई नै खोजेको’, उनको हात समाउँदै सोधें, ‘अहिले के गर्दै हुनुहुन्छ ?’

‘आजैबाट हाम्रो स्कुल खुलेको म कक्षा ५ मा पुगें नि’, सोनिसले भने, ‘स्कुल जाने बेला पनि हुन लाग्यो।’

सोनिससँगको यति भलाकुसारीमै मन फुरुङ भयो। भूकम्पको समयमा खिचिएको उनको तस्बिर भित्तामा टाँसिएको रहेछ। उनले हातमा लिएर तस्बिर खिचाए। भूकम्पले ढालेका १०औं हजार जीवनको पीडा सायद भुल्न सकिन्न तर भूकम्पमा जोगिएको यो सानो नानीको मुस्कानले जीवनप्रति निकै आशावादी बनायो। सोनिसको मुस्कान नियाल्दै गर्दा उसको पुरानो तस्बिरसँगै विगत झल्झली सम्झनामा आयो।

सोनिसको पुनर्जन्मको कथा

भूकम्पले सारा मुलुकलाई रुवाइरहेको समयमा २२ घण्टापछि उद्धार गरिएको बालकको खबरले मुलुकवासीलाई संसारभरका मानिसलाई आशाको सन्देश दियो। झन्डै १० हजार मानिसको मृत्युको शोकले अँध्यारोमा डुबेको क्षणमा पाँच महिनाको यो बालक आशाको दियो बनेर चम्किएका थिए। उनको सकुशल उद्धार कुनै चमत्कारभन्दा कम थिएन।

वैशाख १२ गते मूलढोका– ४ की रस्मिला अवाल पाँच महिनाको सोनिस र १० वर्षीया छोरी सोनियालाई घरमै छाडेर बाहिर निस्किएकी थिइन्। अचानक भूकम्प आयो। हेर्दाहेर्दै उनी हिँडेका बाटावरपरका घर गल्र्यामगुर्लुम ढले। उनी जेनतेन जोगिइन्। उनलाई पुरानो घर र भित्र रहेका नबालक सन्तानको चिन्ताले सतायो।

उनी आत्तिँदै फरक्क फर्किइन्। उनको घर पनि पूरै भत्किएको थियो। आफ्ना दुई सन्तानसहित जेठानीका दुई छोरी त्यहींभित्र पुरिएका थिए। उनले हारगुहार गरिन्। करिब दुई घण्टाको प्रयासपछि छोरी सोनियाको सकुशल उद्धार भयो। जेठानीका १७ र १५ वर्षका दुवै छोरी मृत भेटिए। उनको पाँच महिनाका सोनिसको अझै अत्तोपत्तो थिएन।

१३ गते बिहान उज्यालो नहुँदै नेपाली सेनाको टोली आइपुग्यो र बच्चा रोएको आवाज भएतिरकै भाग पन्छाउन थाल्यो। निकै होसियारीका साथ उनीहरूले काम गरेका थिए। बालक जिउँदै रहेको थाहा पाए पनि अलिकति गल्तीले जीवन जोखिममा पर्ने थियो। अनवरत प्रयासपछि बिहान १० बजे सोनिस सकुशल फेला परे। शोकमा डुबेको मूलढोकामा अचानक खुसी छायो। खुसीको तरंग सबैतिर फैलियो।

भूकम्पको धक्का आउने क्रम रोकिएको थिएन। जति जमिन हल्लिन्थ्यो उति नै भत्कन बाँकी घरका इँट्टा र माटो बाटामा झर्थे। उनी झनै डराइन्। अचानक छोरो रोएको मसिनो स्वर उनका कानमा पर्‍यो। उनलाई छोरो जीवितै रहेको आशा पलायो, तर कहाँ छन् पत्तो रहेन।

त्यही क्रममा उद्धारका लागि आएको नेपाली सेनाको एक टुकडीसँग उनले सहयोगको याचना गरिन्। नेपाली सेनाको टोली तत्कालै घरको भग्नावशेष पन्छाउन थाल्यो। बच्चा रोएको आवाज उनीहरूले पनि सुने, तर ठाउँ यकिन गर्न सकेका थिनन्। वरपरबाट थुप्रै सर्वसाधारण जम्मा भइसकेका थिए। सबैजना एउटा जीवन बचाउने अभियानमा जुटे।

रातको ११ बजेसम्म नेपाली सेनाले अथक प्रयास गरे, तर सोनिस भेटिएनन्। परकम्पका कारण असुरक्षा थियो। सेना राती फर्कन खोज्यो, उनले रोकिन्। सेनाले बिहान चाँडै आएर खोज्ने वाचा गरे। रश्मिला त्यहीं रोकिइन्। रातभर उनका आँखाबाट आँसु बगिरह्यो।

१३ गते बिहान उज्यालो नहुँदै नेपाली सेनाको टोली आइपुग्यो र बच्चा रोएको आवाज भएतिरकै भाग पन्छाउन थाल्यो। निकै होसियारीका साथ उनीहरूले काम गरेका थिए। बालक जिउँदै रहेको थाहा पाए पनि अलिकति गल्तीले जीवन जोखिममा पर्ने थियो। अनवरत प्रयासपछि बिहान १० बजे सोनिस सकुशल फेला परे। शोकमा डुबेको मूलढोकामा अचानक खुसी छायो। खुसीको तरंग सबैतिर फैलियो।

मान्छे भनेको खुसीको खोजीमा निस्किएको यात्री हो। उसले दुःख बिर्सेर खुसी रोज्ने गर्छ। भूकम्पलाई सम्झँदै गर्दा सोनिस सधैं याद आइरहन्छन्। खासमा सोनिसको जन्म तिथिका हिसाबले पुसमा हो, तर परिवारले उनको नयाँ जन्म वैशाख १२ लाई मान्ने गरेको छ। २२ घण्टा पुरिएर सकुशल निस्किएका सोनिस अहिले १० पूरा भएर ११ वर्षका भएका छन्।

कक्षा ५ मा अध्ययनरत सोनिस मुस्कुराउँदा सिंगो समाज रमाउँछ। चर्चित तस्बिरका फोटोग्राफर भक्तपुर झौखेल– ८ का अमूल थापाले वैशाख १३ गते बिहान खिचेको सोनिस अवालको तस्बिरले अचानक नाम र दाम दुवै दिलायो। वैशाख १२ को भूकम्पपछि घर फर्कंदै गर्दा उनी मूलढोकामा पुगेका थिए।

अघिल्लो दिन उनी उद्धारमा पनि जुटे। भोलिपल्ट उनले उद्धार गर्दै गरेको तस्बिर खिचे। जुन संसारभर प्रसिद्ध भयो। उनी एकाएक चर्चित भए। ‘मलाई पनि यो तस्बिरले निकै खुसी दियो’, उनी भन्छन्, ‘मैले खुसीको तस्बिर खिचेको थिएँ।’

भूकम्पले घर भत्काएको पीडासमेत भुलेर बालकको उद्धारमा खटिएका उनी निकै तनावमा थिए, तर अचानक उनी खुसी भए। ‘जब मैले बच्चालाई जीवित देखें, मेरो सारा पीडा हरायो। सबैजना ताली बजाइरहेका थिए। यसले मलाई ऊर्जा दियो र पीडाका बाबजुद पनि मेरो मुहारमा मुस्कान ल्यायो’, उनी भन्छन्।

तस्बिरका अर्का पात्र

सोनिस अवालको उद्धारको तस्बिर प्रकाशित भएको केही समयमै देश–विदेशमा चर्चित बन्यो। २२ घण्टासम्म पुरिएको बालकको सकुशल उद्धारको त्यो तस्बिरले धेरैलाई आशा जगायो। तस्बिरमा सोनिस अवालसँगै अर्का एक नेपाली सेनाको अनुहार पनि देखिन्छ। कतै उनले बालकलाई काखमा लिएको देखिन्छ त कतै अनुहारको धुलो उडाउँदै गरेको। उनी थिए नेपाली सेनाका सुबेदार दीपक राई।

वैशाख १२ को विनाशकारी भूकम्पले जनधनको क्षति गरेपछि १ नम्बर विपत् व्यवस्थापन गण सुन्दरीजलमा कार्यरत उनी टोलीसँगै भक्तपुर पुगेका थिए।

भक्तपुरको दृश्य वीभत्स थियो। सबैतिर रुवावासी चलिरहेको थियो। अधिकांश घरहरू भत्किसकेका थिए। मान्छेहरू चौर र खेतहरूमा छरिएर रहेका थिए। त्यही बिचमा मूलढोकानजिकै एउटा घर भत्किँदा चारजना मान्छे पुरिएको र दुईजनाको मृत्यु भइसकेको थियो। अर्का एकजनाको उद्धार भएको तर पाँच महिनाको एक बच्चा त्यहीं पुरिएको खबर सेनामा पुग्यो।

बच्चा पुरिएको भग्नावशेषमा राईसहितको टोली ‘मुभ’ भयो। खोज्न सुरु गर्‍यो। ‘घटनास्थल र परिवेश हेर्दा हामीलाई पुरिएको बालक जिउँदो होला जस्तो लागेको थिएन’, उनले भने, ‘तर पनि हामी होसियारीका साथ भग्नावशेष पन्छाउँदै खोजी कार्य जारी राख्यौं।’

लगातारको परकम्पले वरपरका जीर्ण घर भत्कने खतरा थियो। नेपाली सेनाको टोली भूकम्प रोकिएपछि खोजी गर्ने वचन दिएर केही बेर आराम गर्न हिँडे, तर दीपकको मनमा रातभर त्यही बालकको यादले सतायो अनि उसको आमाको चीत्कार गुन्जिरह्यो। बिहान झिसमिसेमै उनीहरू सोही स्थानमा पुगे। ‘उद्धारको अन्तिम चरणमा बच्चा रोएको मधुरो आवाज मेरो कानमा पर्‍यो’, उनले भने, ‘तब मात्र बच्चा जिउँदै छ भन्नेमा म विश्वस्त भएँ।’

माटाको धुलो र खुर्सानीको पिरोले त्यहाँको वातावरण कष्टप्रद रहेको उनले बताए। जब उनी शिशुनजिक पुगे तब निकै खुसी भए।

उल्टो कुर्सीमुनि शिशु सुतिरहेका थिए। खुट्टामा अलिकति किचिएको थियो। अनुहारमा धुलो थियो। उनी नजिकै गए र शिशुलाई विस्तारै बाहिर निकाले। शिशुको अनुहार नियाले। निसास्सिँदो वातावरणमा रहेको शिशु खुला वातावरणमा आएलगत्तै मुस्कुराएको उनले बताए। ‘त्यो जिन्दगीको निकै खुसीको क्षण थियो’, उनले भने, ‘हाम्रो टोली निकै हर्षित भयो।’

प्रकाशित: १२ वैशाख २०८२ १२:१९ शुक्रबार

# Nagarik # # The earthquake of April 12 2015