विदेशबाट आयात गरिएको मकै सर्लाहीको विभिन्न नाकामार्फत भारत तर्फ अवैध रूपमा तस्करी हुने गरेको पाइएको छ।
विशेषगरी अर्जेन्टिना र टर्किबाट झापा नाका हुँदै भित्र्याइएको मकै सर्लाही सदरमुकाम मलंगवाको पूर्वी सीमा पर्सा गाउँपालिकाको सखुअवा क्षेत्र हुँदै भारत पुर्याइने गरेको सुराकीपछि सशस्त्र प्रहरी सक्रिय बनेको छ।
सशस्त्र प्रहरी बल सर्लाहीका अनुसार, भारत सीमा नजिकैको सखुअवाको एउटा टिनको घरमा ठूलो परिमाणमा मकै भण्डारण गरिएको सूचना पाएपछि डिएसपी सुमन ढुंगानाको टोली उक्त स्थानमा पुगेको थियो।
टोलीले छापा मार्दा २५–२५ केजीका करिब ४ सय बोरा मकै फेला परेको थियो। तर, मकै नियन्त्रणमा लिन खोज्दा स्थानीयसहित भारतीय नागरिकको कडा विरोध भएपछि प्रहरीले पछि हट्नु परेको थियो।
सशस्त्र प्रहरीले केही बोरा मकै पिकअप भ्यानमा राखिसकेको थियो। तर, विरोध चर्किएपछि मकै छोडेर टोली फर्किएको स्रोतको भनाइ छ।
घटनापछि राजस्व अनुसन्धान कार्यालय पथलैया बाराबाट आएको टोलीले गोदाम सिल गरी मकै सम्बन्धी कागजात संकलन गरेर अनुसन्धान थालेको छ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरी शर्माका अनुसार, ठूलो परिमाणमा मकै सीमाक्षेत्रको घरमा भण्डारण गरिएको सूचनाका आधारमा टोली पठाइएको हो। उनले भने, ‘अनुसन्धान प्रारम्भिक चरणमै छ, यतिबेला सबै विवरण खुलाउन मिल्दैन।’
सशस्त्र प्रहरी बल नम्बर १० गणका गणपति एसपी देवबहादुर चन्दका अनुसार, राजस्व अनुसन्धान टोली घटनास्थल पुगेपछि मकैको जिम्मा राजस्वलाई हस्तान्तरण गरिएको हो। ‘अनुसन्धान अहिले राजस्वको क्षेत्राधिकारभित्र छ,’ उनले नागरिकन्यूजसँग भने।
प्रारम्भिक अनुसन्धानले टर्कीबाट ल्याइएको मकै सर्लाहीको तस्कर समूहले भारत पठाउन भण्डारण गरेको देखिएको छ।
भारतीय व्यापारी ‘भाइलोक समूह’ ले नेपालबाट भारततर्फ मकैको कारोबार गर्दै आएको स्रोतको दाबी छ। यसअघि पनि त्यही समूहले सेटिङमार्फत मकै तस्करी गरेको बताइएको छ।
सर्लाहीको सग्रामपुर, त्रिभुवननगर, मलंगवा लच्का, गोरखकाली, पर्सा गाउँपालिकाको सखुअवा लगायतका नाकाबाट निरन्तर तस्करी हुने गरेको छ।
त्यस्तै, रौतहटको जयनगर, रामपुरखाप, बङ्कुल र नरकटिया नाकाबाट नेपालबाट कवाड, स्याउ, भारतबाट रंगा भैँसी, कपडा, चिनी, स्पेयरपार्ट्स लगायतका वस्तु अवैध रूपमा ओसारिने गरेको स्थानीय स्रोत बताउँछ।
तस्करीमा सुरक्षाकर्मीको संलग्नता रहेको आरोपसमेत लागेको छ। जिल्लाका प्रहरी प्रमुखहरूको सरुवाको मुखमा रहेकाले स्थानीय प्रहरी इन्चार्जहरूसँगको मिलेमतोमा तस्करी मौलाएको बताइएको छ।
प्रकाशित: ८ वैशाख २०८२ २०:५२ सोमबार





