शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको भन्दै पोखरा महानगरपालिकाले विद्यालय संचालनको सुरुवाती दिनलाई तीनदिन पछाडि धकेलेको छ। यसअघि सोमबारबाट विद्यालय संचालनको दिन तोकिएकोमा अब विहीबादेखि पठनपाठन सुरु हुने पोखरा महानगरपालिकाले बताएको छ।
पोखरा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यालय संचालनको अवधि तीनदिनका लागि पछाडि धकेलेको बताए। ‘सोमबारदेखि विद्यालय संचालन गर्ने भनेर यसअघि तालिका सार्वजनिक गरिएको थियो। तर, शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित भएकोले विद्यालय संचालनको दिन तीनदिनका लागि पछाडि सारेका हौ,’ आचार्यले भने, ‘सुरुवाती चरण भएकोले तीनदिन पछाडि सार्दा शैक्षिक सत्रलाई खासै फरक पर्दैन।’
उनका अनुसार पोखरा महानगरभित्रका विद्यार्थीमध्ये करिब ६० प्रतिशतले नीजि विद्यालयमा अध्ययन गर्छन। महानगरको शैक्षिक सत्र २०८१ को तथ्यांक अनुसार ४० प्रतिशत विद्यार्थी मात्र सामुदायिकका अध्ययनरत छन्। ‘शिक्षक आन्दोलनले ४० प्रतिशत विद्यार्थीलाई समस्या पर्ने देखियो। २–३ दिनमा शिक्षक आन्दोलनको समस्या समाधान हुने विश्वासले पनि पछाडि सारेका हौ,’ उनले भने।
सोमबारबाट विद्यालय संचालन गर्दा कतिपय विद्यार्थी झोला बोकेर विद्यालय जाने अवस्था आउने र कतिपयका छोराछोरी घरमै रहँदा घरमा रहनुपर्ने बालबालिकालाई मानसिक असर पर्ने भएकोले एकैपटक विद्यालय खुलाउने गरि व्यवस्थापन गर्न चाहेको उनले बताए। ‘४० प्रतिशतलाई विद्यालय भन्दा बाहिर राखेर शैक्षिक सत्र सुरु गर्दा अप्ठेरो भएपछि एकैपटक सबैलाई विद्यालय पठाउने गरि तीनदिनका लागि पछाडि धकेलेका हौ,’ आचार्यले भने।
आचार्यका अनुसार पोखराका केही बाहेकका सामुदायिक विद्यालयमा भर्ना अभियान चलेको छ। तर सामुदायिक विद्यालयमा अध्ययन गर्ने मध्ये कति विद्यार्थी भर्ना भए भन्ने यकिन तथ्यांक नभएको उनले बताए। ‘साना र केही ठूला स्कुलमा मात्र भर्ना अभियान चलेको छैन। नत्र पोखराभित्रका धेरै विद्यालयमा भर्ना अभियान पनि चलेको छ,’ उनले भने, ‘सीमित विद्यालयमा चलेको भर्ना अभियानलाई मात्र हेरेर भएन। सबै विद्यार्थी विद्यालय जाने अवस्था छैन।’
कतिपय ठूला विद्यालयका शिक्षक आन्दोलनमा सहभागि हुन काठमाडौं गएको भएपनि बाँकी शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकको आलोपालो लगायतका तरिकाबाट भर्ना संचालन भईरहेको पनि उनले बताए।
प्रकाशित: ७ वैशाख २०८२ १७:२८ आइतबार