नेपालगन्जकी मनिषा केसी केही समयदेखि रोजगारीको खोजीमा थिइन्। स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत उनी ‘पार्ट-टाइम’ काम खोजिरहेकी थिइन्। शुक्रबारबाट सञ्चालनमा आएको रोजगार मेलाले उनलाई अवसरको ढोका खोलेको अनुभूति दिलाएको छ।
‘ढुंगा खोज्दा देउता मिलेजस्तै भयो’ भन्दै उनले मेलामा विभिन्न स्टलमा आफ्नो शैक्षिक योग्यता तथा इच्छाअनुसारको रोजगारीका लागि आवेदन दिइन्।
‘मैले चार-पाँच ठाउँमा फारम भरेर बुझाएँ। राम्रो मार्केटिङ र होटल लाइनमा काम गर्न चाहन्छु। विद्यार्थी जीवन सबैभन्दा कठिन हुन्छ, पार्ट-टाइम जागिर पाए धेरै सहज हुन्थ्यो,’ उनले नागरिकन्युजसँग भनिन्।
मनिषाजस्तै धेरै बेरोजगार युवा, महिला तथा सर्वसाधारण नागरिक रोजगार मेलामा सहभागिता जनाइरहेका छन्। विभिन्न होटल, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूले रोजगारीका लागि आवेदन लिँदैछन्। बाँकेका सात स्थानीय तहको सहकार्यमा नेपालगन्ज उद्योग वाणिज्य संघले दुई दिने रोजगार मेला सञ्चालनमा ल्याएको हो।
संघका अध्यक्ष टंकबहादुर धामीका अनुसार मेलाले रोजगारदाता र रोजगार खोज्ने व्यक्तिहरूलाई एकै स्थानमा ल्याएर सीधा सम्पर्क गराउने विश्वास लिएको छ।
‘हामीलाई मेनपावर चाहिएको छ भनेर रोजगार प्रदायकहरू आएका छन्, उता बेरोजगारलाई काम खोज्नु छ। दुवै पक्षलाई जोड्न मेला प्रभावकारी माध्यम बन्नेछ,’ उनले भने।
रोजगार मेलामा ४० वटा स्टल राखिएका छन्। मेलाको अवधिमा कम्तीमा १०० जनाले प्रत्यक्ष रोजगार पाउने अपेक्षा गरिएको छ। औद्योगिक प्रतिष्ठानको मागअनुसार सीपमूलक तालिम प्रदान गरी भविष्यमा दक्ष जनशक्तिलाई रोजगारी दिलाइने आयोजकले जनाएको छ।
कोहलपुर नगरपालिकाका रोजगार संयोजक आशिष वर्माका अनुसार मेलाले युवाहरूलाई सिकाइ, दक्षता र अनुभवका आधारमा रोजगारीसँग जोड्ने अवसर प्रदान गर्नेछ। ‘बेरोजगारलाई लक्षित गरेर प्लेटफर्मको विकास गरेका हौं। मेलाबाट धेरै युवाले अवसर पाउने अपेक्षा छ,’ उनले भने।
नरैनापुर गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीले मेलाको मुख्य उद्देश्य स्थानीय तहमा सूचीकृत बेरोजगारलाई रोजगारी दिलाउनु रहेको बताए। ‘बाँकेमा पहिलो पटक यस्तो मेला आयोजना भएको छ। धेरैले प्रत्यक्ष फाइदा लिनेछन् भन्ने हाम्रो विश्वास छ,’ उनले भने।
बाँकेका अधिकांश उद्योगहरूमा भारतीय कामदारको निर्भरतामा चलिरहेको उद्योगीहरू बताउँछन्। जयमंगलम् सिमेन्ट्स प्रा.लि. बाँकेका प्रमुख सञ्जय अग्रवालका अनुसार उद्योगहरूले स्थानीय श्रमिक पाउन सकेमा वैदेशिक श्रममा निर्भर रहनुपर्ने बाध्यता हट्नेछ।
‘रोजगारदाताले कामदार नपाउने र कामदारले रोजगार नपाउने अवस्था छ। दक्ष श्रमिकको अभावमा भारतीय कामदार राख्नुपर्ने बाध्यता थियो। मेलाले यस समस्याको समाधान गर्नेछ,’ अग्रवालले भने ‘स्वदेशी श्रमिक उपलब्ध भए भारतीय कामदार ल्याउनुपर्ने अवस्था हट्नेछ, उद्योग सञ्चालन गर्न सहज हुनेछ।’
प्रकाशित: १५ चैत्र २०८१ १९:३२ शुक्रबार