माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट घर फर्कन समस्या भएका १५२ जना विद्यार्थी तथा शिक्षकलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्याएको छ।
महानगरपालिकाले परीक्षापछि सवारी साधन अभाव भएका विद्यार्थी तथा शिक्षकलाई उद्धार गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसअनुसार महानगर प्रहरी बलले बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु गरी चारवटा स्थानबाट उद्धार गरी सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याएको हो।
शुक्रबार काठमाडौंमा गणतन्त्र पक्षधर र राजावादी समूहबीचको प्रदर्शनका कारण बिहानैदेखि सवारी आवागमन प्रभावित भएको थियो। सार्वजनिक यातायात ठप्प भएपछि कतिपय विद्यार्थी परीक्षा सकेर घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए।
महानगरले एसइई परीक्षार्थीहरूलाई कुनै कठिनाइ परेमा सम्पर्क गर्न आग्रह गरेको थियो। सोही अनुरूप प्रभावित विद्यार्थी र शिक्षकहरूलाई आवश्यक सहयोग गरिएको महानगरले जनाएको छ।
प्रकाशित: १५ चैत्र २०८१ १९:०९ शुक्रबार