१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १०:२३ पूर्वाह्न
समाज

तीनकुनेमा दिनभर जे-जे देखियो...

काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो ’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईं आह्वानमा प्रदर्शन भयो। राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्र पुनस्र्थापना र संघीयता खारेजीजस्ता एजेन्डासहित प्रसाईंले आह्वान गरेको प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको ’संयुक्त जनआन्दोलन समिति’ ले पनि समर्थन जनाएको थियो।

साथै यो प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था पुनस्र्थापनका एजेन्डा लिएका दलहरूले पनि समर्थन जनाएका थिए।

शुक्रबार बिहान करिब ११ बजेदेखि नै तीनकुने क्षेत्रमा राजावादीहरू भेला हुन थालेका थिए। त्यसपछि सुरु भएको प्रदर्शन हिंसात्मक बन्दै गएको थियो।  उनीहरुको प्रदर्शन साँझसम्म  नै जारी रह्यो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अपराह्न ४:२५ बजेदेखि कर्फ्यू लगाएपछि तितरवितर भएका प्रदर्शनकारी थप अराजक बन्न पुगेका थिए । सोपछि उनीहरुले विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाट पनि गरेका थिए । 

प्रहरीको घेरा तोड्न खोज्दा अश्रुग्यास र पानीका फोहरा

प्रहरीले प्रदर्शनकारीहरूलाई बल प्रयोग गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति दिएको थियो। तर प्रदर्शनकारीहरू प्रहरीको घेरा तोडेर शान्तिनगरबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको हो।

प्रदर्शनकारीहरूले पनि प्रहरीलाई ढुंगा प्रहार गरेका थिए। प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल पनि भएको छ। प्रहरीले लाठीचार्जसमेत गरेको थियो।

स्थानीयको घरमा तोडफोड र आगजनी

राजावादीहरुले तीनकुनेका स्थानीयका घरमा तोडफोड गरेका छन्। ती घरमा बसेर प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले ती घर तोडफोड गरेका हुन्। ती घरका घरधनीहरू को–को हुन् खुलिसकेको छैन भने तोडफोडमा संलग्नको पनि पहिचान भएको छैन।

सोहि घरमा राजावादीहरुले आगजनीसम्म गरेका छन्। प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए । आगो निभाउन गएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार समेत गरेका थिए।  

स्थिति नियन्त्रणमा लिन हवाई फायर अनि चल्यो गोली

तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको थियो। घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि प्रहरीले हवाई फायर गरेको थियो । आगो निभाउन गएको दमकल प्रदर्शनकारीहरुले ढुगामुडा गरेपछि नसकी दमकल फर्किएको थियो।

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली समेत चलाएको थियो। प्रहरीको गोली लागेर एकजना घाइते समेत भएको बताइएको छ।

राजावादीले खोसे टिएर ग्यास हान्ने बन्दुक, सशस्त्र प्रहरीमाथि आक्रमण  

तीनकुनेमा पुगेको सशस्त्र प्रहरी (एपीएफ) को गाडीमा राजावादीहरुले ढुंगामुढा गरेका थिए।राजावादीले एक घरमा लागाएको आगो निभाउन गएको सशस्त्र प्रहरी टोली सवार गाडीमाथि ढुंगामुढा भएको थियो। त्योसँगै प्रदर्शनमा खटिएका एपीएफका सुरक्षाकर्मीमाथि आक्रमण समेत भएको थियो।  

प्रदर्शनकारीहरुको आक्रमणमा परी एक महिला सशस्त्र प्रहरीको टाउको समेत फुटेको थियो। त्यस्तै प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको  बन्दुक खोसेका थिए। राजावादीहरूको समूहले सुरक्षाकर्मीले बोकेको टिएर ग्यास हान्ने बन्दुक खोसेका थिए।

पेरिसडाँडा नजिक गाडीमा आगजनी, माओवादीको कार्यालय प्रवेशको प्रयास

राजावादी समर्थक प्रदर्शनकारीहरूले काठमाडौंको पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी भएको गरेका छन्। आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन ।सो गाडीमा लागेको आगो स्थानीय युवाहरूले निभएका थिए ।

काठमाडौंको तीनकुनेबाट तितरबितर राजावादी समर्थक प्रदर्शनकारीहरू कोटेश्वरमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास समेत गरेका थिए। तीनकुनेको प्रदर्शन र सभा बिथोलिए पछि उनीहरू त्यसतर्फ लागेका थिए।

अन्नपूर्ण पोष्ट र कान्तिपुर टिभीको कार्यालयमा आगजनी प्रयास

उग्र बनेको राजावादी प्रदर्शनकारीहरूले अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास गरेका थिए। तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेका हुन् । उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा समेत गरेको थियो । ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ ।

त्यस्तै राजावादी आन्दोलनकारीले तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड र आगजनी प्रयास गरेका थिए ।

एकीकृत समाजवादीको कार्यालयमा आगजनी, भाटभटेनी लुटियो

राजवादीहरूले नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्। आलोकनगरस्थित एकीकृत समाजवादीको मुख्यालयमा प्रदर्शनकारीहरू पसेर कागजात सडकमा ल्याउनुका साथै कार्यालय सचिवको कार्यकक्षमा आगो लगाएका थिए। पार्टीका महत्त्वपूर्ण काजगात सडकमा ल्याएर जलाउनुका साथै कार्यालय सचिवको कार्यकक्षमा आगजनी गरेपछि त्यहाँको महत्वपूर्ण कागजपत्र जलेको बताइएको छ।  

त्यस्तै कोटेश्वरको भाटभटेनीमा राजावादी समूह प्रवेश गरेर तोडफोड गरेका थिए । कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सी लगायतका सामग्री लिएर हिँडेका छन् थिए भने तोडफोड समेत गरेका थिए।  

सरकारले तीनकुने क्षेत्रमा लगायो कर्फ्यू

जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अपराह्न ४ः२५ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यू आदेश जारी गरिएको हो ।  

प्रशासनले गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यू लगाएको छ । यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कर्फ्यू आदेश जारी गरेको छ । यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरेको छ।  

जडीबुटी कम्पनीमा आगजनी, कर्मचारीले भागेर जोगाए ज्यान

कोटेश्वरस्थित जडिबुटी कारखानामा राजावादीले आगो लगाएका छन्।

तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका हुन्। राजावादीले जडिबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका आधा दर्जन सवारी साधन जलेर नष्ट भएका छन्। आगो अझै नियन्त्रणमा आएको छैन। प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएका थिए।  

प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु, ३० जना घाइते

राजावादी प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो। यस्तै १५ जना सुरक्षाकर्मी घाइते भएका छन् भने १५ जना नै प्रदर्शनकारीहरू पनि घाइते भएका छन्।

दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई मार्ने उद्धेश्यले गाडी चलाए: गृह मन्त्रालय

सरकारले तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक हुनुमा संयोजक दुर्गा प्रसाईं नै मुख्य दोषी भएको आरोप लगाएको छ ।  

शान्तिपूर्ण अवस्थामा रहेको प्रदर्शनपछि प्रसाईंले चलाएको गाडी सुरक्षाकर्मीको घेरा तोड्दै अगाडि बढेपछि स्थिति बिग्रिएको र हिंसात्मक रुप लिएको गृह मन्त्रालयको भनाइ छ । प्रसाईं निस्किएपछि प्रहरीसँग झडप भएको, आगजनी तथा तोडफोडका घटना भएको, प्रदर्शनकारीले दर्जन बढी गाडीमा आगजनी गरेको, पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको, संचार गृहमा आगजनी तथा तोडफोडको प्रयास भएको गृहको भनाइ छ ।

आजको घटनाप्रति प्रसाईं पूर्णरुपमा जिम्मेवार रहेको र क्षतिको जिम्मेवारी पनि उनले नै लिनु पर्ने बताउँदै गृहले प्रसाईंसहित दोषी सबैलाई कानुनी दायरामा ल्याउने गृहले बताएको छ।

रविन्द्र मिश्र र दुर्गा प्रसाईंको अभिव्यक्ति

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका सदस्य तथा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज भएको जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। उनले आज राजावादीहरुको प्रदर्शनमा भएको क्षति राज्यले नै व्यहोर्नुपर्ने बताएका हुन्।  

त्यस्तै आजको प्रदर्शनका जन कमाण्डर दुर्गा प्रसाईंले कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म अपिल समेत गरेका थिए। उनले यो नालायक सरकारले आफूहरुको मुख थुन्न खोजेको पनि बताएका थिए। उनले आफू रहे नरहे पनि प्रदर्शन रोकिन नहुने बताएका थिए।  

प्रकाशित: १५ चैत्र २०८१ १८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App