कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्दाको सुनुवाइ आइतबार हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएका पूर्व कार्यकारी निर्देशक घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक शाक्यसम्बन्धी मुद्दाको सुनुवाइ आइतबार हुने भएको हो।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीका लागि अन्तरिम आदेश माग्दै सर्वोच्च अदालतमा गएका कुलमानको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइसँगै सरकारको पनि कुरा सुन्ने अदेश भएको हो।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा शुक्रबार उक्त मुद्दाको पहिलो बहस भएको हो। सरकारको कुरा सुन्नुपर्ने भन्दै आइतबारका लागि पेशी तोकिने जानकारी इजलासबाट गराएको हो।
बिहीबार सर्वोच्चमा विद्युत् प्राधिकरणबाट बर्खास्तीमा परेका कार्यकारी निर्देशक घिसिङ र नवनियुक्त शाक्य दुवैको रिट निवेदन दर्ता भएको थियो।
आफूलाई अन्याय भएको भनि कुलमानले बुधबार अबेर पेस गरेको रिट सर्वोच्चले बिहीबार मात्र दर्ता गरेको थियो। कुलमान सर्वोच्च पुगे लगत्तै हितेन्द्रदेव शाक्य पनि सर्वोच्च पुगेका थिए। चार वर्षअघि आफूलाई अन्यायपूर्वक पदबाट हटाएको र अदालत आउँदा समेत न्याय नपाएको तथा उक्त अवधिको सेवा सुविधा पाउनुपर्ने दाबी शाक्यले गरेका छन्।
प्रकाशित: १५ चैत्र २०८१ १३:४२ शुक्रबार