काठमाडौं महानगरपालिकाको अनुगमन समितिले धर्मकीर्ति महाविहारको निर्माण कार्य रोकेको छ।
उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा रहेको समितिले अनुगमन गर्दा भर्याङ् जोखिमपूर्ण रहेको र भवन निर्माणमा लापर्वाही देखिएको भन्दै काम रोक्न निर्देशन दिएको हो।
समितिले जोखिमयुक्त भर्याङ् भत्काउन र सुपरभाइजर तथा साइट इञ्जिनियरको लिखित स्वीकृति बिना थप निर्माण कार्य नगर्न निर्देशन दिएको छ।

जमिन तलाबाट पहिलो तलामा जाने भर्याङका सिँढीहरूको उचाइ असमान रहेको, साँघुरो रहेको, ढलान गर्दा फर्माको मुनि इँटा राखिएको तथा निर्माणका क्रममा इञ्जिनियर र सुपरभाइजरका निर्देशन पालना नगरिएको पाइएपछि काम रोकिएको हो।
अनुगमनका क्रममा उपप्रमुख डंगोलले पूर्वाधार निर्माणमा भइरहेको लापरबाहीलाई नजरअन्दाज गर्न नसकिने बताउँदै तोकिएको मापदण्ड विपरीत कुनै पनि काम गर्न नदिइने स्पष्ट पारिन्।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले विगतको तुलनामा निर्माण प्रक्रियामा सुधार आए पनि अझै कडा निगरानी आवश्यक रहेको बताए। ‘निर्माण कार्यमा विधि र मापदण्डको पालना भएन भने हामी कडाइ गर्छौं’, उनले भने।

बुद्ध शिक्षाका लागि निर्माण गर्न लागिएको यो विहार ५६ लाख ५८ हजार ३७२ रुपैयाँ लागतमा निर्माण हुँदैछ। १,१७८.१८ वर्गफिट क्षेत्रफलमा फैलिएको चारतले संरचनाको पहिलो र दोस्रो तला ८२३.२३ वर्गफिट र माथिल्लो तला ५७८.६४ वर्गफिट रहनेछ। गत भदौ २३ गते कार्यादेश दिइएको निर्माण कार्य २०८२ भदौ २२ सम्म सम्पन्न गर्नुपर्नेछ।

अनुगमनका क्रममा महानगरको टोलीले वडा नम्बर २२ मा रहेको मूलश्री महाविहार (मूःबाहा) र वडा नम्बर २४ मा रहेको ब्राम्हण राजोपाध्याय आगमछेँको पुनर्निर्माण प्रक्रिया पनि हेरेको छ। टोलीले संरचनाका ऐतिहासिक र सांस्कृतिक पक्षको अध्ययन गर्दै निर्माण शैली, सामग्री, कला र काष्ठकलाको अवस्था अवलोकन गरेको थियो।

मूःबाहामा रहेको तीन तले बुइँगल सहितको कुमारी द्यो छेँ पुनर्निर्माणका लागि १ करोड ९२ लाख ९ हजार ११३ रुपैयाँको सम्झौता गरिएको छ। २०८१ भदौ ९ गते कार्यादेश दिइएको यस निर्माण कार्य २०८२ फागुन ८ गतेसम्म सम्पन्न गरिनुपर्नेछ।
महानगरका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार कुमारी द्यो छेँको पहिलो तलामा कुमारीको मूर्ति र जीवित कुमारीको आसन राख्ने योजना छ। दोस्रो तलामा धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गरिनेछ।
मूःबाहालका बज्राचार्य समुदायले अघिल्लो पुस्तासम्म जीवित बज्राचार्य कुमारी राख्ने चलन थियो, तर आर्थिक अभावका कारण २०३२ सालपछि यो परम्परा रोकिएको स्थानीय सनम बज्राचार्यले बताए।
वडा नम्बर २४ स्थित ब्राम्हण राजोपाध्याय आगमछेँ पुनर्निर्माणका लागि १ करोड ७४ लाख ९१ हजार ६३२ रुपैयाँको सम्झौता गरिएको छ। २०८१ मंसिर ७ गते कार्यादेश दिइएको यस पुनर्निर्माण कार्य २०८२ मंसिर ६ भित्र सम्पन्न गरिनुपर्नेछ।
स्थानीय कविन्द्र रिमालका अनुसार यहाँ १४औँ पुस्तादेखि देवब्राह्मण राजोपाध्याय समुदाय बसोबास गर्दै आएको छ। यो धार्मिक तथा सामाजिक कार्यका लागि प्रयोग हुने स्थल हो।
आगमछेँको पुनर्निर्माणपछि जमिन तला खुला रहनेछ। पहिलो तलामा देवता कक्ष, दोस्रो तलामा खुला कक्ष र तेस्रो तलामा राजोपाध्याय समुदायको गुप्त पूजा गर्ने कक्ष रहनेछ।
महानगरका योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेका अनुसार निर्माण प्रक्रियामा तोकिएको मापदण्ड पालना गराउन महानगरले अनुगमनलाई थप प्रभावकारी बनाउने योजना बनाएको छ।
उनले अनुगमनलाई नियमित तथा आकस्मिक रूपमा सञ्चालन गरिने जानकारी दिइन्।
प्रकाशित: १४ चैत्र २०८१ २१:२१ बिहीबार