जंगलमा खानेकुराको हाहाकारसँंगै जंगली जनावरहरु बस्ती पस्न थालेपछि भक्तपुरको सूर्यविनायक नगरपालिकाबासी त्रसित हुन थालेका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मकै ठाउँ सवैतिर जंगलका फेदीमा रहेको छ । वनभित्र विभिन्न फलफुहरु तथा अरु खानेकुराहरु नभएपछि विशेष गरेर बँंदेल, चितुवाहरु साँंझ विहान वस्तीभित्र पस्दा स्थानीय त्रसित हुन बाध्य भएको हो । विशेष गरेर मानिसलाई आक्रमण गर्नसक्ने चितुवाहरु एक्लैदुक्लै नभए आफना बच्चाहरुसहित गाउँमा देखिन थालेका हुन् ।
'पहिलादेखि नै यो समस्या फाट्टफुट्ट रुपमा थियो,' सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलकी स्थानीय रोजी वस्नेतले भनिन्, 'अहिले यो समस्याले विस्तारै विकराल रुप लिन थालेको छ ।' यही डरका कारण स्थानीयहरु साँंझ घाम छँदै ढोका लगाई घरभित्रै सुरक्षित बस्नुपर्ने बाध्यता देखिएको उनले सुनाइन् ।
जाडो महिना भएको कारण बिहान ६ बजे पनि अँध्यारो नै हुने र यसले विहान सवेरै कलेज जाने विद्यार्थीहरु पनि डरैडरमा बस कुरेर बस्न बाध्य भएका छन् । एकान्त बाटो, अँध्यारो वातावरण र चितुवाको डरले आमाबुबा पनि छोराछोरीलाई बिहानै स्कुल कलेज पठाउन त्रसित हुने गर्छन् । शहरको छेउ भए पनि गाउँको वातावरण भएको सिपाडोलमा घरपालुवा जनावर पनि पालिएको छन् । त्यस्ता घरहरुले अझ वढी चितुवाको डर भोगेको छ ।
स्थानीय रामकला थापा भन्छिन्, 'घर छोडी माइतघरमा एक्लै खेती किसानी गरी गाईवस्तु पालेर धेरै वर्षदेखि बसिरहेकी छु । पुरानो माटोको घर भएको कारण ढोका र गोठ पनि खासै दरिलो छैन । त्यहीकारण केही महिना अघि चितुवाले साँझ सबेरै गाईको बाच्छो मार्यो । अहिले पनि त्यही समस्या दोहोरिँदा यी गाईवस्तु र आफ्नो एक्लो ज्यानको सार्है माया लाग्छ ।’ आफनो घर वरपर नजिकै कुनै घर नभएकाले यो समस्याले निकै तड्पाई रहेको उनले सुनाइन् ।
मानिस मात्र नभई घरतिर डुल्ने कुकुर पनि यो समस्याले त्रसित छन् । तिनीहरूको बस्ने ठाउँ पनि घरबाहिर हुने कारणले गाउको रक्षा गर्ने कुकुरहरु पनि कम देखिन थालेको स्थानीय बताउँछन् । यो समस्याले हरेक कुकुरहरुलगायतका जीवजन्तुसहित पूरै नगरबासीलाई समस्यामा पारेको स्थानीय बताउँंछन् ।
अहिलेको मौसममा खेतबारी खासै गर्मीयाममा जस्तो मकै छरिदैन । बालीनाली लगाइदैन । त्यस्तो बेलामै यस्तो समस्या देखिरहेछ भने मकैको छर्ने याममा मकैको बोट झाँगिदा झन् डर बृद्धि हुन जाने समस्या देखापर्ने पीडितको भनाई छ । त्यसैले समयमै यस समस्या रोक्न सके नगरबासी डराईडराई बाँच्नुपर्ने बाध्यता हटने उनीहरुको भनाई छ । यस विषयमा वन्यजन्तु प्रशासन तथा सरोकारवालाहरुको स्थानीय ध्यानाआकर्षित गराउन चाहन्छन् ।
प्रकाशित: १२ चैत्र २०८१ १८:४१ मंगलबार