१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हेटौंडामा ट्रकसँग ठोक्किएर पल्टियो भारतीय ग्यास बुलेट

हेटौंडाको पूर्व–पश्चिम लोकमार्ग खण्डमा बिहीबार बिहान भारतीय ग्यास बुलेट र ट्रक एकआपसमा ठोक्किँदा ग्यास बुलेट पल्टिएको छ।

पूर्वी नाका हुँदै वीरगन्जबाट धादिङको धार्केतर्फ गइरहेको एनएल ०१-एए- ५००७ नम्बरको भारतीय ग्यास बुलेट हेटौंडा उपमहानगरपालिका–८ स्थित एचआइडी गेट अगाडि ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

बिहान करिब साढे ७ बजेतिर बुलेटको ब्रेक नलागी विपरीत दिशाबाट आइरहेको ट्रक (प्रदेश ३–०१–००१ ख ९४८१) सँग ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन। ग्यास बुलेट पल्टिए पनि चालक र सहचालक सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि केही समय सवारी आवागमन प्रभावित भए पनि अहिले बाटो सुचारु भइसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

प्रकाशित: ७ चैत्र २०८१ १४:३३ बिहीबार