फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्ला सहित भित्री मधेसका जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ।
भित्री मधेस अन्तर्गत पर्ने चितवन जिल्लामा पनि स्वदेशी तथा विदेशी पर्यटकहरूले भव्य रूपमा होली खेलिरहेका छन्।
बिहानदेखि नारायणगढ, भरतपुर रत्ननगर सौराहा क्षेत्रमा होली खेल्ने मानिसहरुको चहलपहल बढिरहेको छ।
चितवनमा विशेष गरी दुई दिनसम्म होली मनाइने गरिन्छ। यहाँ पहाडी समुदायले आज र तराई समुदायले भोली होली खेल्ने गर्दछन् तर, कतिपयले दुईदिनसम्म होली मनाउने गरेको नारायणी कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले जानकारी दिए।
नारायणी कला मन्दिरले आज होली विशेष कार्यक्रमको आयोजना गरेर होली पर्व मनाएको छ। कला मन्दिरले बिहान होली खेल्दै नारायणगढ परिक्रमा गरेको श्रेष्ठले बताए।
उनका अनुसार नारायणी कला मन्दिरले हरेक वर्ष होली विशेष कार्यक्रमको आयोजना गर्ने गर्दछ। यस्तै यहाँका स्थानीय रेडियो, क्लब तथा सङ्घसंस्थाले पनि ठाउँ ठाउँमा होली विशेष कार्यक्रमको आयोजना गरि मनाएका छन्।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
हेराैं तस्बिरहरु:
प्रकाशित: २९ फाल्गुन २०८१ १८:०८ बिहीबार