२९ फाल्गुन २०८१ बिहीबार
image/svg+xml २१:५२ अपराह्न
समाज

भक्तपुरको मौलिक होली: भीमसेनको लिंग परिक्रमा गर्दै मनाइयो फागु पर्व

होली पर्वको अवसरमा भक्तपुर नगरपालिका–९, दत्तात्रयस्थित भीमसेन मन्दिरमा झुन्ड्याइएको तीन फिट लामो र ३० इन्च मोटाइको लिंग।

भक्तपुरमा बिहीबार परम्परागत र फरक शैलीमा होली पर्व मनाइएको छ।

स्थानीय बासिन्दाले भीमसेनको लिंगको प्रतीकस्वरूप तीन फिट लामो र ३० इन्च मोटाइको काठको लिंगलाई नगर परिक्रमा गराएर फागु पर्व मनाएका हुन्।

भक्तपुर नगरपालिका–९, तचपालस्थित दत्तात्रेय भीमसेन मन्दिरमा झुन्ड्याइराखिएको लिंगलाई साँझ नगर परिक्रमा गराउने परम्परा छ।

एक व्यक्तिले बोकेर दत्तात्रेयबाट नगरको पूर्वी भाग सूर्यमढी, च्याम्हासिंह हुँदै ब्रह्मायणी पीठनजिकको ब्रह्मकुण्डमा पखाल्न लैजाने चलन रहेको छ। जनविश्वासअनुसार, यसरी लिंग बोकेका पुरुषको छोरा जन्मने भएकाले यसलाई बोकेर परिक्रमा गर्ने प्रतिस्पर्धा समेत हुने गर्छ।

फागु शुक्ल अष्टमीको एक साता अघि मन्दिरभित्र झुन्ड्याइने लिंगलाई होली पर्वको पहिलो दिन मन्दिरमा स्थापना गरिन्छ। पूर्णिमाका दिन भने नगर परिक्रमा गराएर ब्रह्मकुण्डमा पखाल्न लगिन्छ। त्यसपछि लिंगलाई अर्को वर्षका लागि सुरक्षित राख्ने परम्परा रहेको छ।

इतिहासविद्हरूका अनुसार भक्तपुरको होली अन्य स्थानभन्दा फरक छ। महाभारतका पात्र भीमसेनसँग सम्बन्धित यो पर्व अनन्त कालदेखि मनाइँदै आएको बताइन्छ।

‘फागु पर्व भीमसेनसँग जोडिएको छ। अन्य स्थानको तुलनामा भक्तपुरमा मनाइने होली मौलिक छ,’ इतिहासविद् डा. बीरेन्द्रप्रसाद कायस्थ भन्छन्, ‘यहाँ भीमसेनको लिंग प्रदर्शन गर्ने परम्परा रहिआएको छ।’

पौराणिक कथाअनुसार, दानवराज हिरण्यकश्यपले आफ्ना विष्णुभक्त छोरा प्रह्लादलाई बहिनी होलिकासँग आगोमा जलाउने प्रयास गरे। तर विष्णुको कृपाले होलिका जलेर नष्ट भइन् भने प्रह्लाद बाँचे। सोही कथाका आधारमा अन्यत्र होली पर्व मनाइन्छ। तर भक्तपुरको होली पर्व भने भीमसेनको लिंगसँग सम्बन्धित परम्परा र नगर परिक्रमा केन्द्रित रहेको इतिहासविद्हरू बताउँछन्।

स्थानीय रामबहादुर सुवालका अनुसार भक्तपुरको होली अरू ठाउँभन्दा पृथक छ। ‘नेपालका अधिकांश स्थानमा होली भनेको रङ खेल्ने पर्व मात्र हो भन्ने बुझिन्छ। तर, भक्तपुरको होलीमा परम्परागत संस्कार जोडिएको छ,’ उनले भने।

त्यसै पनि भक्तपुरमा रङ खेल्ने, लोला हान्ने, पानी छ्याप्ने जस्ता होलीका अन्य प्रचलन पनि कायम छन्। तर, नगर परिक्रमा गराउँदै मनाइने मौलिक शैलीकै कारण भक्तपुरको होली विशेष मानिन्छ।

प्रकाशित: २९ फाल्गुन २०८१ १७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App