नेपालका तालतलैया, नदी किनार र जलाधार क्षेत्रमा हिउँदभरि बसेका स्थलांतरकारी हाँसहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। कार्तिक–मंसिरतिर जाडो छल्न आएका ठूला जलेवा र खड्खडे हाँसहरू अहिले समूहमा भेला भएर उड्ने सुसार गरिरहेका हुन्।

हरेक वर्षजस्तै यस पटक पनि यी हाँसहरू भारत, पाकिस्तान हुँदै साइबेरिया वा मङ्गोलियाको तीव्र चिसो हावामा फर्किनेछन्। हिउँदभरि नेपालका रामसार क्षेत्र, चुरे क्षेत्र तथा अन्य जलाधारहरूमा आश्रय लिएका यी आगन्तुक चराहरू वसन्त लागेसँगै हजारौं किलोमिटरको यात्रामा निस्कने तयारीमा जुटिरहेका छन्।

उडानको सौन्दर्य, यात्राको संघर्ष
तस्बिरमा देखिएको दृश्य कुनै साधारण उडान होइन- यो प्रकृतिसँगको गहिरो सम्बन्धको झल्को हो।

हजारौं किलोमिटर पार गर्ने क्रममा उनीहरू सामूहिक रूपमा अघि बढ्छन्, आकाशमा समन्वयबद्ध आकृतिहरू कोर्छन्। मौसमअनुसार नयाँ बासस्थान खोज्दै निरन्तर प्रवास गर्ने यी स्थलांतरकारी चराहरू प्रकृतिको एउटा अनौठो चक्रका महत्त्वपूर्ण यात्री हुन्।

तर, उनीहरूको यो यात्रा सहज भने हुँदैन। जलस्रोतको कमी, वासस्थानको घट्दो अवस्था र बढ्दो मानव हस्तक्षेपले हरेक वर्ष उनीहरुको यात्रालाई चुनौतीपूर्ण बनाउँदै लगेको छ।
संरक्षणविद्हरूका अनुसार, यदि प्रवासी चराहरूको सुरक्षित आश्रयस्थल गुम्दै गयो भने, यो अद्भुत प्राकृतिक चक्र नै खण्डित हुने खतरा रहन्छ।

टौदहमा देखिएको अन्तिम झलक
यी तस्बिरहरु काठमाडौंको ऐतिहासिक टौदहमा २०८१ फागुन २४ गते शनिबार साँझ खिचिएको हो।
सूर्य अस्ताउने बेलामा ती हाँसहरू आफ्नो अन्तिम सभा जमाएर आकाशमा उड्दै थिए। तर, आइतबार बिहान टौदह पुगेका पर्यवेक्षकहरूले भने तिनीहरूलाई फेला पार्न सकेनन्- साइबेरियातर्फको अर्को लामो यात्राका लागि उनीहरू अघि बढिसकेका थिए।
सबै तस्बिरहरु: सुप्रदिप्त न्यौपाने/नागरिक
प्रकाशित: २५ फाल्गुन २०८१ २०:४६ आइतबार