१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

पातमा आकृति काेर्ने सीपले लाखौं आम्दानी गर्दै विराज

विराजले पातमा बनाएका तस्बिरहरू गाेल्डेन/नागरिक

सन् २०७६ मा नेपालमा कोरोना भाइरस महामारी पहिलो पटक देखा परेको थियो। देशभर कसैलाई पनि घरबाट बाहिर ननिस्कन भन्दै निषेधाज्ञा जारी गरिएको थियो।

महामारीको बेला सामाजिक दूरी कायम गर्नेदेखि बिनाकाम घरबाहिर निस्कन बन्देज थियो। त्यो समयमा जुम्लाकाे चन्दननाथ नगरपालिका-२ भण्डारीवाडा गाउँका विराज भण्डारी काेठाभित्र बसेर आफ्नो माेबाइलमा टिकटक हेरे। टिकटकमा भारतको ताज महलको आकृति भारतीय कलाकारले बनाएको देखे। उनलाई उक्त तस्बिर देखेर मन लाेभियाे।

विराज त्यति बेला आकृति बनाउने कलाका विषयमा युट्युबमा हेर्न थाले। टिकटक नियाल्न थाले। लिफआर्ट प्रतिस्पर्धा अनलाइनबाटै गर्न थाले। उनले पहिलो पटक ओखरको पातमा लिपुलेकसहितको नेपालको नक्साको आकृति बनाए। पहिलो पटक पातमा आकृति कोर्ने प्रयास गर्दा भण्डारीको मनमा अन्योलता थियो। ‘पातमा पनि आकृति कसरी बनाउन सकिएला ?’ भन्ने लाग्थ्यो। तर करिब एक सातामा नै उनले पातमा सुन्दर आकृति बनाउन सफल भए।

पहिलो आकृति सामाजिक सञ्जालमा पोस्ट गरेपछि धेरैले रुचाए। उनको आकृति बनाउने कलामा झनै निखारपन आउन थाल्यो। २५ वर्षीय विराज भण्डारी आजभोलि पातमा आकृति बनाउने आकृतिकारका रूपमा प्रख्यात छन्। पिपलको पातमा क्षणभरमै आकृति बनाएर देखाउनु उनको क्षमता हो।

हरियो पातमै मानिसलगायतका विभिन्न वस्तुको आकृति बनाएपछि उनी एकाएक चर्चामा छन्। अहिले उनलाई पातलमा आकृति बनाइदिनुपर्यो भन्दै धेरै व्यक्ति तथा संस्थाहरू विराजको सम्पर्कमा आउने गरेका छन्। पातमा आकृति कोरेर आम्दानी गर्न थालेको उनी बताउँछन्।

एउटा पातमा आकृति बनाएवापता आफ्नो खुसीले एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म ग्राहकहरूले दिने गरेको विराजले सुनाए। ‘आकृति कोर्न सिकेको ६ वर्ष भयो,’ विराजले भने, ‘आकृति कोरेर यसबीचमा १६ लाख रुपैयाँभन्दा बढी आम्दानी भयो। देश विदेशबाट अर्डर आउने गरेको छ। पढ्ने खर्चसमेत यहीबाट जुटेको थियो।’ 

पातमा आकृति बनाउने उनको कलामा परिवारको पनि साथ छ। तर हिउँदे सिजनमा सबै पात झर्ने भएकाले बाह्रै महिना पातमा आकृति बनाउन सकिने अवस्था छैन। ‘आकृति बनाउन हरियो पात नै चाहिन्छ,’ उनले भने, ‘जुम्लामा ६ महिना जति पात नै पाइँदैन। परिपक्व पात हुन जेठ महिना नै कुर्नुपर्छ। त्यही भएर नियमित रूपमा आकृति बनाउने कार्य अघि बढाउन कठिन छ। 

विराजले देशभरका झन्डै ४३ विद्यालयमा झन्डै २ हजार भन्दा बढी विद्यार्थीलाई ‘लिफ आर्ट’ बारे प्रशिक्षण पनि दिइसकेकाे बताउँछन्। ‘आर्ट जान्नेले पातमा राम्रो आकृति बनाइरहेका छन्,’ उनले भने, ‘नजान्नेले पातमा नाम लेख्न र आकृति बनाउन पात कसरी काट्ने बारे आधारभूत सीप सिकाउने गरेका छन्।'

६ वर्षदेखि पातमा आकृति कोर्न विराजलाई भ्याइनभ्याइ छ। पहिले धेरै बिग्रिए पनि अहिले तस्बिर अनुसारको आकृति जस्ताको तस्तै बनाउने गरेको उनको भनाइ छ। पछिल्लो समय विराजको आकृति बनाउने कलाको सर्वत्र प्रशंसा भइरहेको छ। 

विराजमा आकृति बनाउन झनै उत्साह थपिएको छ। पातमा वन्यजन्तु, चराचुरुंगीदेखि विभिन्न व्यक्तित्वको आकृति कोर्नु उनको दैनिकी जस्तै छ। पातमा चार हजारभन्दा बढी आकृति कोरिसकेका छन्। ‘पातमा मान्छे, जीवजनावर, विभिन्न ठाउँ र वस्तुको आकृति बनाइरहेको छु,’ उनले भने, ‘ब्लेडले पात काटेर आकृति बनाउन गाह्रै छ, तर मैले त्यही काम गर्न सकिरहेको छु र खुसी पनि छु।’

सामाजिक सञ्जाल फेसबुक, टिकटक त्यो नै उनका लागि अघि बढ्ने मार्ग बनेको छ। अहिले उनी अध्ययन लिप आर्टसलाई संगै लिएर गएका छन्। एउटा तस्बिर बनाउन ६ घण्टा लाग्छ। उनले बनाएका आकृति जिल्लाका अधिकांश कार्यालयमा देख्न सकिन्छ।

प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरका मेयर हर्क साङपाङ, डा. सन्दुक रुइतलगायतका आकृति बनाएर उनले भेटघाटका क्रममा दिइसकेका छन्। कुलमान घिसिङ, लक्ष्मीप्रसाद देवकोटालगायतका आकृति पनि कोरेका छन्।

विराजको कला देखेर बुबा भिमबहादुर भण्डारी उत्साहित छन्। उनले भने, 'छाेराकाे पातमा चित्र बनाउने र आकृति कोर्ने कला राम्रो छ। अब यो कला अरूलाई पनि सिकाउनुपर्ने जरुरी छ।' विराजले जुम्लाको कर्णाली प्राविधिक शिक्षालयका विद्यार्थीलाई आकृति बनाउने तरिकाबारे पनि सिकाइसकेका छन्।

त्यस्तै, डोल्पा, जुम्ला, झापा, मोरङ र इलामका विभिन्न विद्यालयमा पुगेर उनले पातमा आकृति बनाउने प्रशिक्षण दिएका छन्। जुम्लाको जनता मावि महत गाउँमा मावि शिक्षा हालिस गरेका विराजले नासा कलेज काठमाडौँमा उच्च शिक्षा हासिल गरेका थिए। गौरादहमा बीएस्सी एजी उत्तीर्ण गरेका विराजले आफ्नो सीप दौतरीमा समेत आदानप्रदान गरेका थिए।

घरमा पाँच जनाको परिवारमा उनी जेठो छोरा हुन्। डोल्पाको मुड्केचुलामा ६ महिना कृषि अधिकृतका रूपमा कार्य गरेका विराजले अहिले आफ्नै युनिक होम डेकोर सप्लायर्स, स्केट पार्क खोलेका छन्।

उनी सामाजिक कार्यमा पनि क्रियाशील छन् भने राजनीतिक क्षेत्रमा पनि सक्रिय छन्। नासा कलेज काठमाडौँकाे गौरादह कृषि क्याम्पसकाे अनेरास्ववियु कमिटीको संस्थापक अध्यक्ष, अनेरास्ववियु झापा जिल्ला कमिटी सदस्य हुँदै हाल अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज छन्। शैक्षिक मुद्दाहरू उठाउने, विद्यालय सुधार, शैक्षिक गुणस्तरका लागि अग्रसर, गतिविधिका हिसाबमा कर्णाली प्रदेशको उत्कृष्ट इन्चार्जको रूपमा सम्मान उनले पाएका छन्।

प्रकाशित: २३ फाल्गुन २०८१ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App