१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २२:५१ अपराह्न
समाज

किन बढ्दै मानव-हात्ती द्वन्द्व?

तीन सय ४९ जना मानिस र ६२ वटा हात्ती मारिए

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–४ डाँडाजाई नजिकै फागुन ७ गते अन्दाजी १५ वर्षको भाले हात्ती मृत फेला पर्‍यो। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार पोस्मार्टम रिपोर्टले बिजुलीको करेन्ट लागेर हात्तीको मृत्यु भएको देखायो।

कार्यालय प्रमुख रामविचारी ठाकुरका अनुसार हात्तीले दुःख दिएपछि स्थानीयले थापेको विद्युतीय धरापमा परेर उक्त हात्ती मरेको हुन सक्छ। ‘कञ्चनपुरको लालझाडी, पुनर्वास क्षेत्रमा हात्तीले निकै दुःख दिन्छ। चालु आर्थिक वर्षमा मात्रै हात्तीले त्यहाँ तीनजनाको ज्यान लियो। हात्तीको आक्रमणबाट एकजना घाइते भए,’ उनले भने, ‘स्थलगत अध्ययनमा पनि खेतबारीमा विद्युत्को तार लगेको देखिन्छ। त्यही तारबाट करेन्ट लागेको हाम्रो निष्कर्ष हो।’

यसैगरी फागुन पहिलो साता बर्दियामा दुई हात्तीको मृत्यु भयो। बर्दियाको ठाकुरबाबा नगरपालिका–३ झरसलुवा सामुदायिक वन र ठाकुरबाबा–४ खैलारको मुसुरो बारीमा ती हात्ती मृत अवस्थामा फेला परेका थिए। त्यसमध्ये एउटाको रेर्ड कलर राख्ने क्रममा मृत्यु भएको थियो। यसलाई बर्दिया राष्ट्रिय निकुञ्जले प्राकृतिक कारणबाट मृत्यु भएको दाबी गरेको छ।

यता चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनमा गत माघ २३ गते मकुना हात्ती मारियो। मकुनाको मृत्यु सम्बन्धमा बनेको छानबिन समितिले आत्मरक्षाका लागि सैनिकले चलाएको गोली लागेर उक्त हात्तीको मृत्यु भएको प्रतिवेदन बुझाएको छ।

देशका विभिन्न ठाउँमा विभिन्न कारणले मानिसबाट हात्ती मारिएका छन्। पछिल्लो एक महिनामा चारवटा हात्तीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत तथा हात्ती अनुसन्धानकर्ता अशोक राम बताउँछन्।

कञ्चनपुरमा बाहेक अन्यन्त्रको मृत्युमा मानवीय त्रुटि नभएकोे उनको दाबी छ।  उनका अनुसार विगत २४ वर्षमा नेपालमा ६२ वटा हात्ती मारिएका छन्। जसमध्ये करेन्ट लगाएर ४८, गोली हानेर आठ र चोर सिकारीका कारण छ वटा हात्तीको ज्यान गएको उनले बताए। यस अवधिमा झापा, मोरङ, सुनसरी र सप्तरीमा ३५ वटा हात्ती मारिएका छन्।

जंगली हात्ती मानव बस्तीमा पस्न थालेपछि मानिसको निसानामा पर्ने गरेको उनले बताए। ‘अहिले मानवबस्ती बसेका ठाउँमा पहिला हात्तीहरू बस्थे। हात्ती आफ्नो पुरानो ठाउँमा आउन खोज्छन्’, उनले भने, ‘यसैकारण मानिसले हात्ती मारिरहेका छन्।’

अहिले जंगली हात्तीहरू मानवबस्तीमा छिर्न थालेका छन्। ती हात्तीले खासगरी मध्यवर्ती क्षेत्रमा बस्ने मानिसलाई सताउने गरेका छन्। हात्तीबाट अन्नबालीमा क्षति पु¥याउने मात्र होइन, मानिसको ज्यानसमेत गएको छ। २४ वर्षको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट तीन सय ४९ जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामले बताए।

रामका अनुसार नेपालमा सबैभन्दा बढी रोनाल्डो, धुव्रे, गोविन्दे, गणेश, यमगज, गणेशगज, रोमियोलगायत हात्तीले मानिसको ज्यान लिएका छन्। चितवनमा धुव्रे, रोनाल्डो र गोविन्देले मानिसलाई दुःख दिएका छन्। नेपालमा सबैभन्दा बढी झापा र बर्दियामा हात्तीले सताउने गरेको उनले बताए। ‘झापामा दुःख दिने हात्ती पाँचवटा छन्। उनीहरूको नाम राखिएको छैन। बर्दियामा बर्दिया दारेहरू तीनवटा छन्,’ उनले भने।

चुरे क्षेत्र छुने सप्तरी, उदयपुर, इलाम, सुनसरी, सिराहा, पर्सा, चितवन, कन्चनपुरलगायतका जिल्लामा जंगली हात्तीले मानवबस्तीमा पसेर सताउँदै आएका छन्।

उनका अनुसार अहिले नेपालमा जंगली र घरपालुवा गरी ४०७ हात्ती छन्। ती मध्ये २२७ वटा जंगली हात्ती छन्। घरपालुवा हात्ती एक सय ८० वटा रहेको जानकारी रामले दिए। घरपालुवामध्ये सरकारसँग ११० र व्यवसायीका ७० वटा हात्ती छन्। यसबाहेक भारतबाट १५० वटा हात्ती नियमितजसो आउने गरेको उनले बताए। हात्ती समूहमा बस्न रुचाउने सबैभन्दा ठुलो जंगली जनावर हो। पछिल्लो समय मानिसले हात्तीको बासस्थान मिचेर बस्ती बसाल्दा द्वन्द्व बढेको उनको बुझाइ छ।

‘हात्ती आफ्नो पुर्खाले हिँडेको बाटो पछ्याउँछन् तर अहिले हात्तीहरू हिँड्ने जैविक मार्गमा मानव बस्ती बसालिएको छ,’ उनले भने, ‘सीमित ठाउँमा बस्न नसक्ने हात्तीलाई मानिसले अवरोध गर्दा द्वन्द्व बढिरहेको छ।’

हात्तीका लागि बासस्थान समेत घटिरहेको उनले सुनाए। रामका अनुसार हात्तीले सात वटासम्म बच्चा जन्माउन सक्छ। हात्तीमा मातृसत्ता कायम हुनेहुँदा उनीहरू ‘हजुरआमा’को नेतृत्वमा समूहमा हिँड्छन्। समूह विभाजनसमेत हात्तीको ‘हजुरआमा’ ले गर्ने उनले बताए। सुँघ्ने क्षमता बढी हुने भएकाले हात्तीले २५ किलोमिटर टाढासम्मको अवस्था थाहा पाउन सक्ने उनले बताए।

नेपालमा चुरे दक्षिणतिरको मेची–महाकालीबीचका जंगलमा हात्तीको बसोबास छ। निकै बुद्धिमान् र स्मरण शक्ति बलियो हुने हात्ती समूहमा बस्छन्। हात्ती समझदार र दयालु स्वभावको हुने भएकाले उसले सितिमिति मानिसलाई आक्रमण नगर्ने उनले बताए। तर हात्तीलाई बाँच्नका लागि धेरै आहारा आवश्यक पर्ने हुँदा बालीनाली खान आउने क्रममा मानिससँग द्वन्द्व हुने गरेको उनले बताए। अर्को मात लाग्दा जंगली भाले हात्ती घरपालुवा हात्ती खोज्दै मानवबस्तीसम्म आउँदा पनि दुवै पक्षबीच द्वन्द्व हुने गरेको उनको अनुभव छ।

प्रकाशित: २३ फाल्गुन २०८१ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App