२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १५:७ अपराह्न
समाज

विश्व अपाङ्गता शिखर सम्मेलन २०२५ को तयारीका सन्दर्भमा राष्ट्रिय अपाङ्गता सम्मेलन हुँदै

विश्व अपाङ्गता शिखर सम्मेलन २०२५ को पूर्व तयारी स्वरुप दुई दिने राष्ट्रिय सम्मेलन काठमाण्डौंमा हुँदै छ । यस राष्ट्रिय सम्मेलनले विश्व सम्मेलनका लागि नेपालको प्राथमिकता तयार गर्ने र नेपाल सरकार लगायत बिभिन्न सरोकारवालाहरूबाट यस सम्बन्धमा गरिने प्रतिवद्धताका लागि आवश्यक अभिमुखिकरण र पैरवी गर्ने लक्ष्य लिएको छ । अपाङ्गताको विविधतालाई स्वीकार गर्दे अपाङ्गताभित्रमा पनि रहेका आदिवासी जनजाती, दलित, मधेशी, मुस्लिम, यौंनिक तथा लैङ्गिक अल्पसंख्यक, मनोसामाजिक अपाङ्गता भएका व्यक्ती, बौद्धिक अपाङ्गता भएका व्यक्ती, श्रवण–दृष्टिविहिन भएका व्यक्ती लगायत न्यून प्रतिनिधित्व भएका व्यक्तीहरुको आवाजलाई उजागर गर्ने अभिप्राय रहेको छ ।

यही मार्च १ र २ मा हुने सो सम्मेलन अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरु दलित अपाङ्गता भएका ब्यक्तीहरुको संघ नेपाल, कोशिश र राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपालद्वारा संयुक्त रुपमा आयोजना हुँदैछ । यो राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य आसन्न अप्रलि २ र ३, २०२५ मा जर्मनीको बर्लिनमा हुन गइरहेको विश्व अपाङ्गता शिखर सम्मेलनको प्रक्रिया, यसको संयन्त्र र विगतमा भएका प्रतिबद्धताहरूको समीक्षा गर्नु हो । सो अवसरमा अपाङ्गता अधिकारको प्रवद्र्धनका लागि नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग तथा निकायहरू, बिभिन्न संवैधानिक आयोगहरु, द्विपक्षीय तथा बहुपक्षीय विकाश साझेदारहरु, संयुक्त राष्ट्रसंघका निकायहरु, अन्तर्राष्ट्रिय गौर सरकारी संस्थाहरु तथा नागरिक समाजका संघसंस्थाको प्रभावकारी भूमिका र उनीहरुले अपाङ्गता समावेशीता प्रर्वद्धनका लागि गर्नुपर्ने प्रतिबद्धताहरुको सम्बन्धमा छलफल गरिने छ । यस सम्मेलनमा नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकाश मन्त्रालय र अपाङ्गता भएका व्यक्तीहरुको संघसंस्थाका प्रतिनिधि र तिनका अधिकारकर्मीहरुको सहभागीता रहने छ ।

सो सम्मेलनको पहिलो दिन प्रतिनिधि सभा अन्र्तगत कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति माननिय बिमला सुवेदीज्यूको प्रमुख आतिथ्यतामा हुने छ । त्यसैगरि सो सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  मन्त्रि माननिय प्रदिप पौडेल ज्यूको प्रमुख आतिथ्यतामा औपचारीक उद्घाटन हुनेछ । सम्मेलनमा विश्व अपाङ्गता शिखर सम्मेलनको उद्देश्य, अघिल्लो सम्मेलनका प्रतिबद्धताको कार्यान्वयनको स्थिति तथा हाँसील प्रगति विश्लेषण गरिने छ । साथै जर्मनीको बर्लिनमा आयोजना हुने आगामी शिखर सम्मेलनका लागि नेपालका प्राथमिकताका सवालहरुको पहिचान र नेपाल सरकार लगायत बिभिन्न निकायहरुले अपाङ्गता समावेशी विकासका लागि गरिने प्रतिबद्धताहरुको बारेमा साझा धारणा बनाइने छ ।

 विश्व अपाङ्गता शिखर सम्मेलनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र समावेशी विकासका लागि अन्तर्राष्ट्रिय प्रयासहरूलाई सशक्त बनाउन सरकार, नागरिक समाज, अपाङ्गता भएका व्यक्ति तथा संस्था, नीजि क्षेत्र र सरोकारवालाका लागि साझा मञ्च तयार गर्छ । सन् २०१८ बाट सुरु भएको यस सम्मेलनले प्रत्येक तीन वर्षमा सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाज र विकास साझेदारहरूको बीचमा संवाद, सहकार्य र सहयोगको अवसर सिर्जना गर्दछ । यस शिखर सम्मेलनले अपाङ्गता समावेशी समाज निर्माण गर्नका लागि साझा योजना तर्जुमा गर्ने र उनीहरुका हक र अधिकारका लागि अन्र्तराष्ट्रिय प्रतिबद्धता बनाउन विभिन्न सरोकारवालालाई एकीकृत गर्ने प्रयास गर्दछ ।

आगामी अप्रील २ र ३ मा जर्मनीको बर्लिनमा जर्मन सरकार, जोर्डन सरकारले संयुक्तरुपमा विश्व अपाङ्गता शिखर सम्मेलन  आयोजना हुँदैछ ।

नेपालबाट पनि सो सम्मेलनमा नेपाल सरकार, अपाङ्गता भएका व्यक्तीहरुको संघसंस्थाका प्रतिनिधि तथा तिनका अधिकार कर्मी लगायत विभिन्न निकायहरुबाट प्रत्यक्ष सहभागीता जनाइदै छ ।

प्रकाशित: २० फाल्गुन २०८१ १८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App