१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

ललितपुरको टीकाथलीमा किन निस्कियो ग्यास ?

ललितपुरको टीकाथलीमा भूमिगत पानी निकाल्न बोरिङ खन्ने क्रममा ग्यास निस्किएर आगोको ज्वाला निस्किएको छ। महालक्ष्मी नगरपालिका–५ टीकाथलीमा बिहान करिब ८ः३० बजेतिर आगोको ज्वाला निस्किएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

आगोको ज्वाला निस्किए लगत्तै उक्त स्थानमा प्रहरी पुगेको थियो। त्यहाँ पुग्दा ९ सय फिट गहिराइमा खनिसकेपछि आगो बलेको पाइएको प्रहरीले जनाएको छ।

बोरिङ खन्ने क्रममा आगोको लप्का उठेर मुस्लोमा परिणत भएको थियो। जसमा पानी खन्याउँदा समेत आगो ननिभेको दृश्यहरूमा देखिन्छ।

त्यसपछि पुगेको प्रहरीले खानी तथा भूगर्भ विभागमा खबर गरेको थियो भने कृत्रिम उपायमार्फत आगो निभाएको थियो।

खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाले काठमाडौं उपत्यका क्षेत्रमा प्राकृतिक ग्यास (मिथेन) रहेको विभागको अध्ययनले देखाएको बताउँछिन्। ‘त्यो त्यही मिथेन ग्यास हो। जुन जमिनमुनि पानीमा मिसिएको हुन्छ,’ उनले भनिन्,‘ड्रिलिङ गर्दा नजिक आगो नबाल्नुपर्ने हो, उहाँहरूले बाल्नुभएको रहेछ। त्यही आगोको लप्काले समातेर आगो लागेको हो। यस्तोमा केही गर्नुहुन्न,केही बेरमा आफै निभ्छ।’

उता प्रहरीले भने आगो निभिसकेको जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८१ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App