२० चैत्र २०८१ बुधबार
image/svg+xml २०:२२ अपराह्न
समाज

विस्का जात्राका लागि ल्याइयो ५५ हात लामो ‘लिंगो’

भक्तपुरको ऐतिहासिक विस्का जात्राका लागि आवश्यक ५५ हात लामो ल्योसिंद्य (काठको लिंगो) आइतबार जात्रास्थलमा ल्याइएको छ। भक्तपुर नगरपालिका–४ ल्योसिंखेलमा गाडिने उक्त लिंगो सूर्यविनायक नगरपालिका–१० चितपोलस्थित लिंगो वनबाट काटेर ल्याइएको हो।

विस्का जात्राका लागि परम्परागत रूपमा दुईवटा लिंगो ल्याइने प्रथा अनुसार यस वर्ष पनि दुई लिंगो काटेर भक्तपुर झिकाइएको छ। काठमाडौंको इन्द्रजात्रा र भक्तपुरको विस्का जात्रामा प्रयोग गरिने लिंगो चितपोलकै वनबाट काटेर ल्याउने परम्परा रही आएको छ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक, भक्तपुरका प्रमुख खीमा ओलीका अनुसार १५ दिने सूचना जारी गरी टेण्डरमार्फत लिंगो ढुवानी गरिएको हो।

यस वर्ष चार जनाले टेण्डर भरेका थिए, जसमा सबैभन्दा कम मूल्य कबोल गर्ने जगतराम न्हिसुतूले टेण्डर जितेका थिए। संयोगवश, उनी भैरबनाथ जात्रा सहयोग समितिका उपाध्यक्ष समेत रहेका छन्। समितिका अध्यक्ष भक्तपुर नगरपालिका–४ का वडा अध्यक्ष कुमार चवाल थिए, तर केही महिनाअघि उनको निधन भएको थियो।

ओलीका अनुसार, एक लिंगो दिउँसै जात्रास्थलमा आइपुगेको थियो भने अर्को राति ढुवानी गरिएको हो। लिंगोको नापजाँच गर्दा यदि ५५ हातभन्दा लामो भए, आवश्यक परिमार्जन गरेर मिलाइनेछ।

विस्का जात्राको मुख्य आकर्षण – लिंगो उठाउने परम्परा

आठ रात नौ दिनसम्म चल्ने भक्तपुरको विस्का जात्रामा लिंगो उठाउने र ढाल्ने परम्परा मुख्य आकर्षण मानिन्छ। चैतको अन्तिम दिन लिंगो ठड्याइन्छ भने नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ल्योसिंखेलमा ढालिन्छ। यस अवसरमा हजारौं भक्तजन तथा पर्यटक भक्तपुर आउने गर्छन्।

यसपटक पहिलो पटक डोजरको सहायताले लिंगो तानेर जात्रास्थलसम्म ल्याइएको छ, जबकि अघिल्लो वर्षसम्म मानिसहरूले डोरीको सहायताले तानेर लिंगो ल्याउने परम्परा रहेको थियो। जात्राको दिन भने परम्परागत शैलीअनुसार छ वटा ठूला डोरीको सहायताले सयौं युवाले लिंगो उठाउने प्रथा कायम रहनेछ।

प्रकाशित: १८ फाल्गुन २०८१ १९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App