२७ चैत्र २०८१ बुधबार
image/svg+xml १६:५० अपराह्न
समाज

राजमार्ग क्षेत्रका निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १३ मध्ये १२ अवैध

मधेस प्रदेशका निजी अस्पतालहरूको सेवा गुणस्तर र कानुनी व्यवस्थापन सुधार गर्न प्रदेश सरकार सक्रिय बनेको छ।

यही क्रममा मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको टोलीले रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवन क्षेत्रमा रहेका निजी अस्पतालहरूको अनुगमन गर्दा १३ मध्ये १२ अस्पताल अनाधिकृत रूपमा सञ्चालनमा रहेको पाइएको छ।

शनिबार साँझ गरिएको अनुगमनका क्रममा ती अस्पतालहरूले सेवा सञ्चालन अनुमतिबिनै सञ्चालन भइरहेको पाइएको हो।

मुख्यमन्त्री सिंहले अवैध रूपमा सञ्चालनमा रहेका ती अस्पतालहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्। अनुगमन टोलीमा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहसहित अन्य अधिकारीहरू सहभागी थिए।

१२ अस्पताल अवैध, चन्द्रपुर हस्पिटल मात्र कानुनी रूपमा दर्ता

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव राजेश मिश्रका अनुसार चन्द्रपुरस्थित ‘चन्द्रपुर हस्पिटल प्रालि’ मात्र कानुनी रूपमा सेवा सञ्चालन अनुमति लिएको पाइयो। सो अस्पतालसँग चिकित्सक तथा कर्मचारीलाई दिइने करकट्टासहितको तलब विवरण माग गरिएको छ।

यसैगरि अनुमतिविहीन रूपमा सञ्चालनमा रहेका रौतहटको चन्द्रपुरस्थित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर, सिभिल हृयुमन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी हस्पिटल प्रालि, हिमालयन पोलिक्लिनिक, सिम्स अस्पताल प्रालि, चन्द्रपुर अर्थोपेडिक एन्ड जेनरल हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, चन्द्रपुर सामुदायिक हस्पिटल प्रालि, मोडेल अर्थोपेडिक एन्ड जेनरल हस्पिटल प्रालि तथा सर्लाहीको हरिवनस्थित दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालिलाई बन्द गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री सिंहले संघ, प्रदेश र स्थानीय सरकारका मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका अस्पतालहरूले बिरामीहरूको स्वास्थ्य जोखिममा पारिरहेको बताए।

उनले भने, ‘मापदण्डविपरीत सञ्चालित अस्पतालहरूले आवश्यक भौतिक पूर्वाधार, औषधि उपकरण र दक्ष जनशक्ति व्यवस्थापन नगरेका कारण उपचारको गुणस्तर खस्किएको छ। यसले बिरामीको ज्यानसमेत जोखिममा पार्ने गरेको छ।’

यसअघि मुख्यमन्त्री सिंहले प्रादेशिक राजधानी जनकपुरधाम, वीरगन्जलगायतका स्थानका निजी अस्पतालहरूको अनुगमन गरिसकेका छन्। प्रदेश सरकारले अस्पताल सेवा मापदण्ड उल्लङ्घन गर्ने संस्थाहरूमाथि कडाइ गर्ने जनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०८१ ००:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App