भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, तिगनीस्थित नीलबाराही मन्दिरमा नयाँ वर्षको आगमनसँगै भक्तजनको घुँइचो लाग्ने गर्दछ। उपत्यकाका चार प्रमुख बाराही पीठमध्ये एक मानिने यस मन्दिर वर्षभरि शून्यप्रायः रहने भए पनि फागुनदेखि वैशाखसम्म भने भक्तजनको बाक्लो उपस्थिति रहन्छ।
स्थानीयका अनुसार नीलबाराही मन्दिरमा भक्तजनको उपस्थिति नयाँ वर्ष प्रारम्भसँगै बढ्ने गर्दछ। स्थानीय रामकृष्ण राजबाहक भन्छन्, ‘फागुन, चैत र वैशाख महिनामा यहाँ भीड लाग्छ, बाँकी महिनामा भने शून्यजस्तै हुन्छ।’
असारदेखि मंसिरसम्मको ६ महिनामा मन्दिर सुनसान रहने बताइन्छ, भने तिहारपछि जेठ, पुस र माघमा भने फाट्टफुट्ट भक्तजन आउने गरेको पाइन्छ।
नीलबाराही भगवानलाई धन प्राप्तिका देवता मान्ने चलन छ। यही विश्वासका आधारमा नयाँ वर्षको सुरुवातमा भक्तपुरवासी परिवारसहित मन्दिर पुग्ने परम्परा रहिआएको भक्तपुर–२ की लक्ष्मी सुवाल बताउँछिन्। उनका अनुसार कतिपय समूहमा वनभोजसहित दिनभरि समय बिताउने गर्छन्।
मन्दिर परिसरमा वनभोजका लागि आउनेको संख्या बढेसँगै श्री नीलबाराही सामुदायिक वन उपभोक्ता समूहले सात वर्षदेखि स्टलहरूको व्यवस्था गर्दै आएको छ। समितिका सदस्य कृष्ण राजबाहकका अनुसार मन्दिर क्षेत्रमा सात पिकनिक स्पट छन्। जसका लागि फागुन, चैत महिनामा एक महिना अगावै बुकिङ गरिसक्नुपर्ने हुन्छ। हाल चैत २ गतेसम्मका सबै स्टल बुक भइसकेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नीलबाराही मन्दिर क्षेत्रलाई नेपालका सय पर्यटकीय गन्तव्य सूचीमा समावेश गरेको छ। काठमाडौं उपत्यकाका चार प्रमुख बाराही पीठमध्ये पर्ने यस मन्दिरको सांस्कृतिक महत्व उपत्यकाभरि फैलिएको छ।
इतिहासविद्हरूका अनुसार नीलबाराही मन्दिरको स्थापना झन्डै २३९० वर्षअघि, राजा विक्रमसेनको पालामा भएको मानिन्छ। साथै, यहाँ रहेको भनिएको लिच्छवीकालीन शिलालेखमा राजा जिष्णुगुप्तबारे उल्लेख छ। यदि यो प्रमाणित भएमा, नीलबाराही मन्दिरको इतिहास लिच्छवीकाल वा त्यसअघिसम्म पुग्ने देखिन्छ। तथापि, यसको थप अनुसन्धान आवश्यक रहेको जानकारहरू बताउँछन्।
प्रकाशित: १७ फाल्गुन २०८१ १४:३२ शनिबार