२२ चैत्र २०८१ शुक्रबार
image/svg+xml ११:१७ पूर्वाह्न
समाज

चौकिदार थिए लोकनायक सलहेस!

मैथिली लोकगाथामा सर्वाधिक चर्चित र लोकप्रिय जननायकको रूपमा रहेका छन्– सलहेस। उनी त्यो बेलाको मिथिला राज्य अहिलेको मधेस प्रदेशको सिरहा नगरपालिकास्थित महिसौथका बासिन्दा थिए। देवीदुर्गाका अनन्य भक्त थिए, सलहेस। प्रायःजसो प्रत्येक दिन कमलदह/मानिक दहमा स्नान गर्थे। फूलबारीमा फूल टिप्थे र देवीदुर्गाको पूजाअर्चना गर्थे।

फूलबारीमै रहेको सिलहट अखडामा उनी कुस्ती खेल्थे। उनको पहिचान आकर्षक थियो। सम्पर्कमा आउने जोकोही उनीप्रति मोहित हुन्थे। एकपटक पकडियागढकी राजकुमारी चन्द्रावतीले फूल टिप्न फूलबारी आउँदा सलहेसलाई देखिछन्। उनले सलहेसप्रति मोहित भएर प्रेम प्रस्ताव नै राखिछन्। सलहेसले भने उनको प्रस्ताव अस्वीकार गरेछन्। कारण, उनी विवाहित थिए। यो अस्वीकृति चन्द्रावतीलाई सह्य भएन। उनले आफ्नो बुवालाई पनि सलहेसको चरित्रप्रति आक्षेप लगाउँदै कुरा लगाइछन्।

राजाले राजकुमारीको गुनासो तत्काल सुनवाइ गरी सलहेसलाई समात्न आदेश दिए। सलहेश समातिए। चन्द्रावतीको सुरक्षामा खटिएका चुहडमललाई हटाएर उनको ठाउँमा सलहेसलाई राखियो। चुडहमलले आफ्नो अपमानको बदला लिन सुरुङ खन्छन् र राति सुतिरहेको अवस्थामा चन्द्रावतीका सबै गहना चोरेर भाग्छन्।

चौकीदार राखिएका सलहेसलाई चोरीको आरोपमा जेल पठाइन्छ। सलहेसप्रति आशक्ति राख्ने तरेगनागढका चार राजकुमारीमध्ये दौना मालिन यो खबर सुनेपछि मर्माहत हुन्छिन्। उनले राजदरबारमा पुगेर कागज गरी केही समयका लागि सलहेसलाई मागी सबै गरगहनासहित चोर समातेर ल्याउने वचन दिन्छिन्। राजाले दौनाको विश्वासमा सलहेसलाई छाडिदिन्छन्।

दौना आपूm नटिन (नर्तकी) र सलहेसलाई नट (नर्तक) बनाएर चुहडमलको घर पुग्छिन् र उनलाई आफ्नो मायाजालमा पारी सबै गहनासहित राजदरबारमा हाजिर गराउँछिन्। राजा प्रशन्न भई सलहेसलाई मुक्त गर्छन्। यसबाट सलहेस र दौनाबीचको प्रेम प्रगाढ हुन्छ। नथुनीसिंह दनुवारद्वारा लिखित ‘लोकनायक सलहेस’ पुस्तकमा उल्लेख भएअनुसार राजा कुलेश्वरद्वारा संरक्षित फूलबारीको रेखदेख सलहेसको जिम्मामा थियो। फूलबारीमा फूल टिप्न दौना आइरहन्थिन्। सोही क्रममा दौना सलहेसप्रति मोहित भइन्।

सलहेससँग प्रेममा परेकी दौनाले आफ्नो प्रेमलाई विवाहमा रूपान्तरण गर्न भने सकिनन्। सलहेससँग दौनाले विवाह प्रस्ताव राखे पनि उनले स्वीकार गरेनन्। कारण उनी विवाहित थिए। दौनाले सलहेससँगको प्रेमलाई निश्चल राखिरहिन्। उनले विवाह गरिनन्। उनी सलहेसको सम्झनामा माला लिएर उभिइरहिन्।

सलहेससँगको अमर प्रेमको सम्झनामा फूलबारीमा रहेको सलहेस मन्दिरको दक्षिणपट्टिको हारमको रुखमा वर्षमा एक पटक फूल्ने सुनाखरीको मालाआकृत फूल दौना र सलहेसकै ‘प्रेम प्रतिक’ भएको लोकमान्यतालाई दनुवारद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ ।

नयाँ वर्षका दिन फक्रिने यो मालाआकृत फूल प्रेमिका दौनाले सलहेसका लागि ल्याएकी थिइन्। जुन उनले सलहेसलाई पहिर्‍याउन पाइनन्। यी दुवैको प्रेमको प्रतीकका रूपमा नयाँ वर्षमा फक्रिने मालाआकृत फूल हेर्न यहाँ हरेक वर्ष भिड लाग्छ।

यो फूलबारी १४औँ शताब्दीमा राजा पुरादित्यद्वारा लगाइएको कथन छ। १६औँ शताब्दीमा राजा कुलेश्वरले फूलबारीको संरक्षकका रूपमा सलहेसलाई नियुक्त गरेका थिए। फूलबारीमा सबभन्दा पहिले राजा कुलेश्वरको पूजाको चलन अझै कायम छ।

सलहेस फूलबारीमा जैविक विविधता रहेको छ। ४५ प्रजातिका ७१ वनस्पति र ८२ प्रजातिका बिरुवा छन् त्यहाँ। फूलबारीको माटो घर पोत्न लग्ने क्रम अझै कायम छ। यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने, सुख, शान्ति प्राप्त हुनुका साथै यहाँ गरिएको प्रेम र विवाह जीवनपर्यन्त सुखमय रहने जनविश्वास छ ।

लोकगाथाका यी अमर पात्र सलहेस आफ्नो प्रभाव क्षेत्रमा बसेका जनताका लागि शोषण, अत्याचार र सामाजिक अराजकताको विरुद्ध निरन्तर संघर्षरत थिए। सलहेसलाई दुसाध जातिको भनिन्छ। प्राचीन समयदेखि नै दुसाधहरू शूरवीर मानिन्थे। त्यसैले सुरक्षाको जिम्मेवारी उनीहरूले पाउँथे। सलहेस पनि प्रारम्भमा पहरेदार नै थिए। पछि उनले आफ्नो सेनाको गठन गरी उत्तरतिरबाट तिब्बत र किरातहरूको आक्रमणको वीरतापूर्वक सामना गरेका थिए र आफ्नो समाजलाई स्वाभिमानीपूर्वक जिउने वातावरण मिलाएका थिए।

 लोककल्याणका लागि चामत्कारिक काम पनि गरेको हुनाले यिनी देवताको रूपमा पुजिन थाले। सलहेसको समयमा जादु–टुना, तन्त्र–मन्त्रको प्रगाढ प्रयोग भैरहेको थियो। आफ्नो स्वरूप परिवर्तन गर्ने, अरूको स्वरूप परिवर्तन गरिदिने, आकाशमा उड्ने, अदृश्य हुने, पशुपंक्षी पनि मानव जस्तै बोल्ने जस्ता अलौकिक त्रियाहरू हुने गरेका कारण विद्वान्को एउटा वगर्ले सलहेसको समय छैठौं–सातौं शताब्दी ठान्छ। त्यसबेला मालिनीहरूको चर्चा आएको र तिनीहरू मन्त्रमा सिद्ध भएकाले पनि यस तर्कलाई उनीहरूले अघि बढाएका छन्। हर्षवर्धनको मृत्युपछि मिथिलामा आएको अराजक अवस्थाकै उपज सलहेस भएको एकथरी विद्वानहरूको मत छ।

गाथागायकहरूले राजा सलहेसलाई आफ्नो सौर्य–वीरताले गर्दा महिसौथा राज्यको राजासम्म भएको वर्णन गरेका छन्। एउटा अर्को मतमा कर्णाट राजा हरिसिंह देवको समयमा मैथिली भाषाको प्रथम गद्यग्रन्थ ‘वर्णरत्नाकर’को रचना ज्योतिरीश्वर ठाकुरले सन् १३२४ तिर गरेका थिए।

उक्त ग्रन्थमा ‘लोरिकनाच’को चर्चा छ तर सलहेसको चर्चा छैन। त्यसैले सलहेसको समय चौधौं शताब्दीको अन्त्य वा पन्ध्रौं शताब्दीको सुरूतिर भएको हुन सक्ने अनुमान पनि गरिएको छ। तर त्यतिबेला राजदरबारमा संस्कृत पण्डितहरूको बर्चस्व रहेकाले दुसाध जस्ता तल्ला जातका नायक व्यक्तित्वबारे लेख्न आवश्यक नठानिएको हुन सक्छ। किनभने अहिले पनि सन् १८८१ मा जार्ज ग्रियर्सनले सलहेस गाथालाई लिपिबद्ध नगरेको भए कोही शास्त्रीय लेखकहरू (शिष्ट साहित्यका प्रणेताहरू ) ले लेख्ने थिएनन्।

त्यति मात्र होइन, आजसम्म पनि एकजना डा. महेन्द्रनारायण राम (सहलेसका स्वजातीय) बाहेक कसैले पनि सलहेस गाथाको उद्धार गरी लिपिबद्ध गर्ने साहस देखाएका छैनन्। त्यस्तै नेपालका पुरातत्वविद् तारानन्द मिश्र सलहेस गाथामा आएको महेश्वर भण्डारीको चर्चाको ऐतिहासिक साक्ष्यको आधारमा पृथ्वीनारायण शाहको समयसम्म ल्याउँदै सलहेस गाथालाई शाहकालको मध्यभाग वि.सं. १८३० (सन् १७७९) मा हुने तथ्य निरूपण गरेका छन्। लगभग एक सय वर्षपछि जार्ज ग्रियर्सनले सलहेस गाथाको प्रसंग छापे र दुसाध जातिद्वारा सलहेस पुजिन गरेको कुरा पनि भने। पचास–सय वर्षको अभ्यन्तरमा उनी महानायकबाट देवतासम्म हुन पुग्छन्। जुन त्यति सम्भव लाग्दैन।

मैथिली लोकगाथामा सलहेसको स्थान यसकारण पनि विशिष्ट छ कि यसको प्रचार–प्रसार निकै विस्तृत भूभागमा फैलिएको छ। मैथिल गाथामा वर्णित स्थानहरू आजसम्म पनि छन्। यस्ता स्थानहरूमा महिसौथा (सलहेसको जन्म स्थान), सलहेस फूलबारी (राजा फूलबारी, जहाँ सलहेस पूजा गर्न फूल टिप्थे), मनिकदह (जहाँ सलहेस नित्य नुहाउँथे), पकडियागढ (जहाँको दरबारमा सलहेस चौकिदार थिए), कमलदह (जहाँ परीद्वारा सलहेसलाई जन्माएर छाडिएको विश्वास गरिन्छ), त्रिवेणी (कमला, बैजनी र ताउखोलाको संगममा प्रत्येक वर्ष मेला लाग्ने ठाउँ, जहाँ सलहेसकी बहिनी वनसप्ती सतखोलियाका राजा शैनिप्रति मुग्ध भई पछि बिहे गरेकी), ननमहरी (यहाँ रहेको मन्दिरमा सामान्य व्यक्तिको प्रवेशमा लागेको प्रतिबन्ध सलहेसले फुकुवा गराएका थिए), मोरङ (गाथामा हिन्दु पति महेश्वर भण्डारीको राजधानी जसकी चारवटी छोरी मालिन सलहेससँग आजीवन प्रेम गर्दै अविवाहित बसिन), बराटपुर (मधुबनी जिल्लाको बासोपट्टि निर अवस्थित स्थान, राजा सलहेसको ससुराली), सिलहट अखडा (सलहेस कुश्ती खेल्ने ठाउँ) आदि ठाउँहरू महिसौथा नजिक नै छन्। यी स्थान अधिकांश सिराहा जिल्लामा पर्छन। 

गाथाको बनौट र जननायक सलहेसको अवस्थिति, तिब्बत र किरातसँगको युद्धमा प्रदर्शित गरिएको बहादुरी जस्ता प्रसंगले पनि लोक नायक राजा सलहेसलाई नेपालको राष्ट्रिय विभूतिको रूपमा स्वीकार गर्नुपर्ने मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको तर्क छ।

सिराहा जिल्लामा रहेका सलहेस सम्बन्धित स्थलहरूको संरक्षण गर्नुपर्छ। सुरूमा एउटा सामान्य सुरक्षा अधिकारी (चौकिदार, राज्यप्रहरी) बाट आफ्नो जीवनयात्रा थालेका सलहेस नेपाल–भारतको मैथिली भाषी क्षेत्रमा पुजनीय बन्न पुग्नु सामान्य कुरा होइन।

निकै लामो समयदेखि समाजको लोककण्ठमा बास बस्दै आएको सहलेसको कथाले सम्पूर्ण समाजलाई प्रभावित पार्दै जानुले लोकगाथाको प्राचीनता, विश्वसनीयता र अन्ततः ऐतिहासकता प्रमाणित हुन्छ।

वर्ण व्यवस्थाको प्रारम्भिक चरणमा समाजमा शोषित, गुलाम, दास बनाउने प्रवृत्ति, सामन्तहरूको अत्याचार, जनपदीय राजाहरूको धन, प्रतिष्ठाको लालशाले निरन्तर एक–अर्कामाथि आक्रमणको सिलसिला चलेका बेला सलहेसले आफ्नो दलित, शोषित समाजका लागि सौर्य र तेजद्वारा नयाँ वातावरण निर्माण गर्न सक्नुले नै उनको व्यक्तित्वको उचाइलाई परिभाषित गर्छ ।

प्रकाशित: १७ फाल्गुन २०८१ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App