१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

उनले गाडीमै छुटेको ५ तोलाको गहना फिर्ता पाइन

गाडीमा छुटेको ५ तोला सुनसहितको झोला प्रहरीले फेला पारेर सकुशल धनीलाई फिर्ता गरेको छ।

बुधबार बुटवलबाट कपिलवस्तु बाणगंगा नगरपालिका–८, बैरिया जाँदै गरेकी स्थानीय गीता कँडेलले गाडीमा झोला बिर्सिएपछि प्रहरीको सहायताले फिर्ता पाएकी हुन्। उक्त झोलामा सुनका विभिन्न गहना र अन्य सामग्री थिए।

कँडेल बुटवलबाट बिङगर हुँदै बैरिया जाने गाडीमा यात्रा गरिरहेकी थिइन्। घर पुग्ने बेलामा झोला छुटेको थाहा पाएपछि उनले खोजतलासका लागि प्रहरीलाई खबर गरिन्। उनलाई आफू चढेको गाडीको नम्बरसमेत थाहा थिएन।

ईलाका प्रहरी कार्यालयका निरीक्षक लोकेन्द्र जिसीले बुटवल यातायात तथा पश्चिम नेपाल यातायात समितिका पदाधिकारीहरूसँग समन्वय गरी खोजतलास गर्दा झोला फेला परेको जानकारी दिए। सोही गाडीका चालकले झोला सुरक्षित राखेका रहेछन्, जसलाई उनले प्रहरीलाई बुझाएका थिए।

प्रहरीले झोला धनीलाई देखाउँदा कँडेलले उक्त झोला आफ्नो भएको पुष्टि गर्दै सबै सामग्री सुरक्षित रहेको बताइन्। बिहीबार औपचारिक रूपमा झोला फिर्ता गरिएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए।

झोलामा सुनका झुम्का एक सेट, टप, रानीहार, दुई वटा बाला, छड्के तिलहरी र ब्रासलेट रहेका थिए। प्रहरीको सक्रियताका कारण हराएको गरगहना फिर्ता पाएपछि कँडेलले प्रहरीप्रति आभार व्यक्त गरिन्।

प्रकाशित: १५ फाल्गुन २०८१ २०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App