१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हराएको पाँच महिनापछि जङ्गलमा कङ्काल भेटियो...

काभ्रेपलाञ्चोकमा हराएको करिब पाँच महिनापछि मण्डनदेउपुर नपा–११ को ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ।

लामाको हत्या अभियोगमा प्रहरीले धुलिखेल नपा–६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।

लामा गत असोज १५ गतेदेखि हराएकी थिइन्। सोही दिन लामा औषधि खरिदका लागि घरबाट तामाघाट जान्छु भनेर हिँडेको र घर नफर्केपछि उनका श्रीमान राइफल लामाले प्रहरीमा खोजविनका लागि निवेदन दिएका थिए।

निशाको कङ्काल बुधबार दिउँसो २ बजे पाँचखालको काफ्लेडिही नजिकको जङ्गलमा फेलापरेको थियो। निशाको कङ्कालसँगै ब्याग, चप्पल र व्यागभित्र निशा लामा लेखिएको बिल फेला परेका कारण उक्त कङ्काल श्रीमती निशाकै भएको भनी लामाले सनाखत गरेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार निशाका श्रीमान् लामाले रन्जितकार विरुद्ध आज जाहेरीसमेत दर्ता गराएका छन्। प्रहरीका अनुसार जाहेरीमा पक्राउ परेका सुनिल रञ्जितकारले निशालाई काभ्रेपलाञ्चोककै बनेपामा भेटी ललाइफकाइ गरी झुक्याएर काफ्लेडिहीको जङ्गलमा लगेको र हत्या गरेको आरोप छ।

रञ्जितकारले भने निशाले आफूलाई ‘जबरजस्तीकरणीको अभियोग’ मा फसाइदिन्छु भनेकाले आवेशमा आएर धारिलो हतियार र ढुङ्गाले टाउको तथा संवेदनशिल अङ्गमा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ। निशाका दुई छोरा र एक छोरी छन्।

प्रकाशित: १५ फाल्गुन २०८१ १९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App