१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:१३ पूर्वाह्न
समाज

ऐतिहासिक ‘जुँगे महादेव’ मन्दिर पुनः निर्माणमा ढिलाइ

बागेश्वरी मन्दिर परिसरमा राखिएको ‘जुँगे महादेव’ को मुर्ति। तस्बिर: नागरिक

प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको ऐतिहासिक ‘जुँगे महादेव’ मन्दिर र तलाउ भएर हिँड्ने पुल पुनः निर्माणमा ढिलाई भएको छ।

नेपालगन्ज उपमहानगरपालिकाले ठोस योजना बिना नै जुँगे महादेव मन्दिर र पुल पुनः निर्माण गर्ने भन्दै पुरानो संरचना भत्काएको थियो। तर, लामो समय बितिसक्दा पनि मन्दिर र पुल पुनः निर्माणको काम सम्पन्न हुन सकेको छैन।

प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा पुनः निर्माण गरिएको जुँगे महादेव मन्दिर। 
 

तलाउको बीचमा रहने मन्दिर र पुल पुनः निर्माण नहुँदा स्थानीय बासिन्दा तथा धार्मिक अगुवा आक्रोशित भएका छन्। नेपालगन्ज उपमहानगरपालिकाले महाशिवरात्रि पर्वका दिन मन्दिरमा पुजापाठ सुरु गराउने बाचा गरेको थियो।

यस वर्षको महाशिवरात्रिमा पनि मन्दिरमा जुँगे महादेवको पुजा गर्न नपाउँदा दर्शनार्थीहरु आक्रोशित भएका हुन्। मन्दिर पुनः निर्माण लागि पोखरीको पानी सुकाइएको छ।

प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको ऐतिहासिक महत्व बोकेको जुँगे महादेवको ‘अपमान’ गरिएको उनीहरुको आरोप छ। नेपालगन्जका सामाजिक अभियन्ता हेमन्तराज काफ्लेले समयमा बनाउन नसक्नेलाई ठेक्का किन दिइयो ? भन्दै प्रश्न गरेका छन्।

‘बनाउन सकिँदैन भने थालनी किन गर्नु ? , ढिलो हुनु या गराइनु पनि भ्रष्टाचार हो, चरम लापरबाही हो, आस्था माथीको ठाडो प्रहार हो,’ उनले भने।

नेपालगन्ज उपमहानगरपालिकाको विकास शैली निकै पट्यार लाग्दो देखिएको काफ्लेको भनाई छ। जुँगे महादेव मन्दिर महाशिवरात्रिको दिनसम्म तयार हुने आसामा बसेपनि काम अधुरै देखिएको उनले बताए।

अर्का अभियन्ता महेश श्रेष्ठले ‘जुँगे महादेव’ माथी ठुलो अपमान भएको सुनाए। ठेक्का लगाउने नेपालगन्ज उपमहानगरपालिका कार्यालय यसमा दोषी रहेको उनको आरोप छ।

जुँगे महादेव मन्दिर र पुल पुनःनिर्माणको काम छिटो सम्पन्न गर्ने विषयमा नागरिक स्तरबाट दबाव भएपनि उपमहानगरपालिकालाई वास्ता नै नभएको श्रेष्ठ बताउँछन्।

मन्दिरको अवस्था देखेर पुजापाठ गर्न जाने दर्शनार्थीहरुले दिनहुँजसो सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै आक्रोश पोख्दै आएका छन्।

यस विषयमा सामाजिक सञ्जाल तथा विभिन्न चोक, चौतारामा पनि टिप्पणी भइरहेका छन्। ‘जुँगे महादेव मन्दिरको स्तर उन्नतीको काममा लापरबाही गर्ने ब्यक्तिहरुलाई नेपालगन्जवासीले अवश्य पनि मुल्यांकन गर्नेछन्,’ श्रेष्ठले भने।

जुँगे महादेवलाई ‘बन्धक’ बनाइएको उनको टिप्पणी छ। जीर्ण अवस्थामा रहेको मन्दिर स्तर उन्नती गरिने भएपछि त्यहाँ राखिएको जुँगे महादेवको मुर्तिलाई बागेश्वरी मन्दिर परिसरकै एउटा कुनामा लगेर राखिएको छ।

मन्दिरमा पुग्ने दर्शनाथीहरु जुँगे महादेवको सहज रुपमा पुजा गर्न समेत नपाएको गुनासो गर्छन्।

जुँगे महादेव मन्दिर र पुल पुनःनिर्माण गर्नका लागि ठेकेदार कम्पनी ‘ग्रेटर नेपाल कन्सट्रक्सन’ नेपालगन्ज–१९, बाँकेले २०७९ चैत २ गते १ करोड ८ लाख ७३ हजार ८ सय ९९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

ठेकेदार कम्पनीले २०८० चैत २ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि अहिलेसम्म अधुरै रहेको छ। तोकिएको समयभित्र काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीले पटक–पटक म्याद थप्दै आएको छ।

यता उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले मन्दिर पुनःनिर्माणको काम लगभग सम्पन्न भएपनि पुलको केही काम मात्र बाँकी रहेको जिकिर गरेका छन्।

तोकिएको समयभित्र काम गर्न नसकेको ठेकेदारको ठेक्का तोड्नुभन्दा म्याद थपेर नै काम सम्पन्न गराउनेतर्फ उपमहानगरपालिका कार्यालयले जोड दिएको उनले सुनाए। अब चाडैं दर्शनार्थीले जुँगे महादेव मन्दिरमा पुजा गर्न पाउने मेयर बिष्टले बताए।

प्रकाशित: १४ फाल्गुन २०८१ १७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App