सवारी दुर्घटनामा मृत्यु भएका बाबु–छोराको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि इलामको हर्कटेमा दिउँसोदेखि अवरुद्ध मेची राजमार्ग खुलेको छ।
मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३, हासपोखरीमा भएको दुर्घटनामा टिपरको ठक्करबाट बाबु–छोराले ज्यान गुमाउनुपरेपछि मृतकका आफन्तले मेची राजमार्गको हर्कटे र कन्याम क्षेत्रमा यातायात अवरुद्ध पारेका थिए। उनीहरूले ठक्कर दिने टिपरले क्षतिपूर्ति नदिउञ्जेल अस्पतालबाट शव नउठाउने अडानसमेत राखेका थिए।
पशुपतिनगर इलाका प्रहरी कार्यालयमा भएको छलफलमा टिपर व्यवसायीले पीडित परिवारले राखेको माग (क्षतिपूर्ति) पूरा गर्ने सहमति जनाएपछि राजमार्ग बन्द खुलाइएको पीडित परिवारका दीपक राईले नागरिकन्युजलाई जानकारी दिए।
उनका अनुसार क्षतिपूर्ति दिने सहमति भएपछि शव उठाउन परिवारका सदस्य झापाको बिएन्डसी अस्पताल गएका छन्। ‘क्षतिपूर्ति दिइने भएपछि शव उठाउने र बन्द राजमार्ग खुलाउने सहमति भयो,’ उनले भने।
शुक्रबार साँझ टिपरले ठक्कर दिँदा मेची राजमार्गको रोङ गाउँपालिका–३, हासपोखरीमा मोटरसाइकलमा सवार सूर्याेदय नगरपालिका–६, फाजीगाउँका ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे पवनकुमार राईको मृत्यु भएको थियो।
झापाबाट घर फर्किंदैगर्दा दीर्घराजले चलाएको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ ख ६४६२ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते दुवैजनाको उपचारक्रममा झापाको बिएन्डसी अस्पतालमा त्यसै दिन मृत्यु भएको थियो। टिपर चालक इलामको माइजोगमाई गाउँपालिका-२, शान्तिचोकका ३० वर्षे खगेन्द्र थामीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
प्रकाशित: ११ फाल्गुन २०८१ २०:१५ आइतबार





