नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालको शव फेला परेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ कालिखोलामा डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा मोटरसाइकल चालक लम्जुङ घर भएका २७ वर्षीय रोहित राना बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उनको शव घटना स्थलभन्दा सय मिटर तल नदी किनारमा १० दिनपछि भेटिएको हो। आज बिहान माछा मार्ने माझीले देखेपछि प्रहरीलाई खबर गरेको भण्डारीले बताइन्।
उनी भारतीय सेनामा कार्यरत (गोर्खा राइफल म्यान) रहेको पुष्टि भएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ। परीक्षणपश्चात शव परिवारको जिम्मा लगाइने उनले बताइन्।
रानालाई खोज्न यसअघि गोताखोर समेत परिचालन गरिएको थियो। बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।
प्रकाशित: ११ फाल्गुन २०८१ १२:४४ आइतबार