स्वीस भूगर्भशास्त्री टोनी हेगनले सात दशकअघिदेखि खिचेका नेपाल चिनाउने तस्बिरहरूको पाँच दिने प्रदर्शनी दोलखाको जिरी नगपरालिकामा चलिरहेको छ।
टोनी हेगन फाउन्डेसन र जिरी नगरपालिकाको आयोजनामा भएको तस्बिर प्रदर्शनीको हेगनकी छोरी डा. क्याट्रिन हेगनले उद्घाटन गरेकी हुन्। प्रदर्शनीमा राखिएका तस्बिरहरू अवलोकनपछि जिरी नगरपालिकाले स्वर्गीय हेगनलाई सम्झिएकोमा खुसी व्यक्त गरिन्। आफ्ना पिताले भ्रमण गरेको समय र अहिले जिरीमा धेरै परिवर्तन आफूले महसुस गरेको बताइन्।
‘पहिले र अहिलेको जिरीमा धेरै परिवर्तन भएको छ, केही सकारात्मक र केही नकारात्मक,’ उनले भनिन्, ‘यहाँ धेरै विकास भएको छ। कृषिमा मानिसहरूको सहभागिता घटेको छ। भारत र चीनका कृषि उपजको उपभोग बढेको छ। यो त्यति राम्रो कुरा होइन।’

जिरी नगरपालिकाका मेयर मित्र जिरेलले जिरीको विकासमा स्वीजरल्याण्डका जनता र सरकारको ठूलो सहयोग रहेको स्मरण गर्दै स्वीजरल्याण्ड र जिरीबीच घनिष्ट सम्बन्ध रहेको बताए।
स्थानीय बुद्धिजीवी तथा जिरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टेक जिरेलले टोनी हेगनले जिरीलाई विश्वसामू चिनाउन र जिरीको विकासमा स्वीस सहयोग ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। पछिल्लो समय जिरी आन्तरिक पर्यटनको लोकप्रीय गन्तव्य बनिरहेको छ।
फोटो प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ।
हाडजोर्नी विशेषज्ञ समेत रहेकी डा.क्याट्रिन हेगन फागुन १३ र १४ गते जिरी अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविरमा सहभागी रहने छिन्।

‘नेपालको स्वीजरल्याण्ड’ भनेर चिनिने जिरीको विकासमा २०१३ सालदेखि नै स्वीजरल्याण्डले सहयोग गरेको थियो। जिरीमा चीज फ्याक्ट्री, गाई अनुवांशिक प्रजनन केन्द्र, अस्पताल स्थापना तथा व्यावसायिक कृषि विकासका लागि स्वीजरल्याण्डको सहयोग रहेको थियो। पछि जिरी प्राविधिक शिक्षालयको स्थापना र सञ्चालन, जिरीमा एयरपोर्ट निर्माण र लामोसाँघु-जिरी सडक निर्माणमा स्वीजरल्याण्डले सहयोग गरेको थियो।
टोनी हेगन २००४ सालमा मोहन शम्शेरको निमन्त्रणमा नेपालको विकासमा सहयोग गर्न पहिलोपटक नेपाल आएका थिए। पछि संयुक्त राष्ट्र संघका प्रतिनिधिका रूपमा र नेपाल सरकारका कर्मचारीका रूपमा उनले लामो समय नेपालका विभिन्न स्थानको भ्रमणमा बिताएका थिए। उनले खिचेका पुराना तस्बिरहरूको वृत्तचित्र ‘उहिलेको नेपाल’ युट्युबमा उपलब्ध छ।
यस्तै, उनले लेखेका ‘नेपाल’, ‘विकेन्द्रीकरण र विकास’, ‘नेपालमा मेरो खोजयात्रा’ लगायतका पुस्तक प्रकाशित छन्।


प्रकाशित: ११ फाल्गुन २०८१ १२:२२ आइतबार