२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

किन असुरक्षित हुँदै आकाश?

क्यानडाको टोरन्टोमा डेल्टा एयरलाइन्सको उडान ४८१९ को दुर्घटनाग्रस्त अवतरण सबैभन्दा डरलाग्दा भिडियोमध्ये एक हो। भाग्यवश कुनै मृत्यु भएन तर यस्ता भिडियो सपनामा पनि तर्साउन पर्याप्त हुन्छन्, विपनाको त झन् के कुरा भयो र?

गत सोमबारको दुर्घटनाले यो एक्लो घटना होइन भन्ने महसुस गराउँछ। खासगरी गत महिना अमेरिकी एयरलाइन्सको विमान र युएस आर्मीको हेलिकोप्टरको टक्करमा ६७ जनाको मृत्यु भएको केही समयलगत्तै यो घटना पनि थपिएपछि आकाश अझ खतरनाक हुँदै गएको हो कि जस्तो लागिरहेको छ।

कहिलेकाहीँ भावनाहरूले भने हामीलाई धोका दिन सक्छन्। तथ्यांक हेर्ने हो भने हवाईयात्रा पहिलेजस्तै सुरक्षित नै छ। नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डको जनवरीको प्रारम्भिक तथ्यांकले कम्तीमा त्यही देखाइरहेको छ। गत महिना निजी र व्यावसायिक विमान उडानहरू मिलाएर देशव्यापी विमान दुर्घटनाको संख्या ज्यादै कम थियो।

विगत तीन वर्षको तथ्यांक हेर्ने हो भने सन् २०२२ मा संसारभर जम्मा दुई वटा विमान दुर्घटना भएका थिए। नेपालको तारा एयर दुर्घटना मे २९ मा र चीनको चाइना इस्टर्न एयरलाइन्सको चीनको गाङ्सीमा दुर्घटना भएको थियो। तारा एयरमा २२ जना थिए भने चाइना इस्टर्नमा १३२ जना।

त्यसपछि सन् २०२३ मा यती एयरलाइन्स दुर्घटना हुन पुग्यो, जसमा ७२ जनाको निधन भयो। यस दृष्टिले संसारमा सो वर्ष एउटै मात्र दुर्घटना भएको थियो। उता सन् २०२४ मा दुई वटा प्लेन दुर्घटनामा परे। पहिलो सौर्य एयरलाइन्स दुर्घटनामा १९ जनाको ज्यान गयो भने कोरियाको जेजु एयर दुर्घटनामा एक सय ८० जनाको देहान्त भयो।

२०२५ सुरु भएपछि भने संसारलाई नै ब्युँझाउने गरी विमान दुर्घटना हुन थाले। जनवरी २९ मा अमेरिकन एयरलाइन्स र अमेरिकी सेनाको सिकोर्सस्की हेलिकोप्टर ठोकिँदा ६७ जनाको निधन हुन पुग्यो। अमेरिकी विमान इतिहासको यस्तो खतरनाक घटना सन् २००१ यता २५ वर्षको अवधिमा देखिएको थिएन।

त्यस्तै जनवरी ३१ मा मेड जेट्सबीच बजारमा खस्दा ६ जनाको तत्काल मृत्यु भयो। अन्य २५ जना घाइते हुन पुगे। यस्तै फेब्रुअरी ५ मा अमेरिकाको अलास्कामा भएको विमान दुर्घटनामा पर्दा १० जनाको मृत्यु भयो।

यस्तै फेब्रुअरी १७ मा इन्डेभर एयर टोरन्टोमा विमान दुर्घटना हुँदासमेत ८० जना सुरक्षित नै रहे। विमानमा सवार २१ जनालाई भने सामान्य चोटपटक लागेको बताइएको छ। यसरी हेर्दा विमान दुर्घटना बढेकै देखिन्छ।

विज्ञहरू भन्छन्– ऐतिहासिक दृष्टिकोणले हेर्ने भने सन् २०१२ को तुलनामा यो ज्यादै कम हो। त्यो बेला त ७० वटा विमान दुर्घटना दर्ता गरिएका थिए। सन् २०२२ मा भने संसारभर नेपालबाहेक कुनै पनि देशमा विमान दुर्घटना भएका रहेनछन्। जसलाई सुरक्षित जनवरी भनेर केही विश्लेषकले नामकरणसमेत गरेका थिए।

जनवरी २०२५ को सुरक्षा रेकर्ड तथ्यांकगत दृष्टिले हेर्दा विसंगति पनि होइन। अमेरिकामा व्यावसायिक हवाई यात्रा पहिलेभन्दा निकै सुरक्षित भएको छ। पछिल्ला १५ वर्षमा व्यावसायिक विमानमा मृत्यु संख्या अघिल्लो १५ वर्षभन्दा कम छ। त्यसैले पनि अमेरिकी विमान सञ्चालकहरूले सगर्व भन्ने गरेका छन्, यो सडक दुर्घटनाको तुलनामा धेरै सुरक्षित छ, किनभने अमेरिकामा कार दुर्घटना दर निकै उच्च छ। ‘विन्टर स्टोर्म’का कारण जनवरीमा मात्र लगभग चार सय सवारी दुर्घटनामा परेका थिए। त्यसक्रममा कुनै मृत्यु घटना भने दर्ता भएको नदेखिएको नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसनले जनाएको छ।

एक तथ्यांकअनुसार नेपालमा भने २०२५ को जनवरीमा दुई हजार २७६ दुर्घटना दर्ता भएका थिए। जसमा १९७ जनाको ज्यान गएको थियो भने ६४६ जना गम्भीर घाइते भएका थिए। मोटरसाइकल दुर्घटना ७० प्रतिशत, कार १३ प्रतिशत र बस दुर्घटना ६ प्रतिशत रहेको राइजिङ नेपालको हालैको रिपोर्टले उल्लेख गरेको छ।

सिएनएनका अनुसार अमेरिकामा सन् १९८२ यता विमान दुर्घटना निकै कम हुँदै जान थालेको छ। सन् २०२० को दशकमा भने अघिल्ला सबै कीर्तिमान भंग हुने गरी विमान दुर्घटना भएको देखिन्छ। सन् १९८२ र १९८३ मा मात्र ६ सयभन्दा बढी खतरनाक विमान दुर्घटना भएका थिए।

अमेरिकामा हुने अधिकांश दुर्घटनामा निजी प्लेनहरू पर्ने गरेका छन्। धेरै हुने भएकाले ती खबर समेटिँदैनन् तर व्यावसायिक विमानमा सवार धेरै जनाको ज्यान जाने गरी हुने दुर्घटनाले भने धेरैको ध्यान खिच्ने गर्छ। त्यसैले विमान निरन्तर दुर्घटना भएका हुन् कि भनी सर्वसाधारण आतंकित हुने गरेका छन्।

पछिल्ला दुर्घटनाले धेरै कुरा सिकाएका छन्। यी दुर्घटनाले हवाई यात्रालाई सय प्रतिशत सुरक्षित बनाउन अझ बढी जिम्मेवार बनाउने छन्। ती दुर्घटना दुःखद, तनावयुक्त र आतंकित पार्ने त छँदै थिए तर अझै पनि हवाई यात्रा सुरक्षित नै छ।

प्रकाशित: ११ फाल्गुन २०८१ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App