२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

जुम्लाका अझै ४८ वडा बालविवाहमुक्त हुन बाँकी

हिमा–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिँदा देउडा गाउँदै स्थानीयवासी। तस्बिर : गोल्डेन बुढा, जुम्ला / नागरिक

जुम्लामा हालसम्म १२ वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ। पछिल्लो पटक सिँजा क्षेत्रअन्तर्गत पर्ने हिमा गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ।

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय तह छन्। यी स्थानीय तहअन्तर्गत ६० वटा वडा रहेका छन्, जसमा अझै ४८ वडा बालविवाहमुक्त हुन बाँकी छन्।

यसअघि हिमा गाउँपालिकाका १, २ र ३ नम्बर वडा बालविवाहमुक्त घोषणा भइसकेका थिए।

त्यसैगरी, सिँजा गाउँपालिकाको २, ४ र ६ नम्बर वडा, कनकासुन्दरी गाउँपालिकाको ४ र ५, पातारासी गाउँपालिकाको ५, तिला गाउँपालिकाको ६ तथा गुठीचौर गाउँपालिकाको ४ नम्बर वडा बालविवाहमुक्त घोषणा भइसकेका छन्।

‘बिहेबारी २० वर्षपारि, हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता’ नाराका साथ हिमा गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो।

गाउँपालिकाका सबै वडालाई बालविवाहमुक्त घोषणा गर्ने लक्ष्यअनुसार आवश्यक सूचकहरू पूरा गर्दै ५ नम्बर वडालाई बालविवाहमुक्त बनाइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए।

‘समाजमा बालविवाहले ठूलो असर पुर्याएकाले यसलाई रोक्न गाउँपालिकाले कदम चालेको हो,’ अध्यक्ष शाहीले भने, ‘यसअन्तर्गत हालसम्म चार वटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ।’ हिमा गाउँपालिकामा सात वटा वडा छन्।

घोषित वडाहरूमा बालविवाहसम्बन्धी रणनीति, बाल संरक्षण नीति, बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति गाउँपालिका, वडा तथा विद्यालयस्तरमा सक्रिय रहेको लगायतका मापदण्ड पूरा भएकाले ती वडाहरू बालविवाहमुक्त घोषित गरिएको हो।

नेपाल सरकारले सन् २०३० भित्र मुलुकलाई बालविवाहमुक्त बनाउने नीति लिएको छ। तर, वास्तविक रूपमा बालविवाह न्यूनीकरणको प्रयास अझै प्रभावकारी बन्न सकेको छैन।

यसलाई रोक्न सरकारी तथा गैरसरकारी निकायहरूको मात्र नभई समाजका सबै पक्षको संलग्नता आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

स्थानिय तहहरूले गैरसरकारी संस्थासँगको सहकार्यमा आवश्यक सूचक पूरा गर्दै बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन्।

तर, जुम्लामा सामाजिक परम्परा, प्रेम विवाह, आर्थिक अभाव, गरिबी, बेरोजगारी, अशिक्षा, जातीय विभेद, धार्मिक विश्वास, कानुनी ज्ञानको अभाव, पारिवारिक दबाब, सामाजिक सञ्जालको दुरुपयोग लगायत कारणले बालविवाहका घटना अझै रोकिएका छैनन्।

प्रकाशित: १० फाल्गुन २०८१ २३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App