२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

‘घरमा शौचालय छैन, जङ्गल जान जनावरको डर’

चितवनको माडी नगरपालिका-१ स्थित पाण्डवनगरकी ३५ वर्षीया पार्वती बोटेको घरमा शौचालय छैन। पार्वतीको शौचालय भनेकै घर पछाडिको पाँचपाण्डव मध्यवर्ती सामुदायिक वनको झाडी हो।

शौच जाने समयमा उनलाई कहिल्यै सुरक्षित महसुस हुँदैन। जङ्गली जनावर आएर आक्रमण गर्ने डर भइरहने उनी बताउँछिन्।

‘ट्वाइलेट लागे जङ्गलतिर जाने हो,’ घर पछाडिको जंगल देखाउँदै उनले भनिन् ‘रातीमा ट्वाइलेट लागेमा अझ धेरै डर लाग्छ।’

पाण्डवनगरलाई तीन तिर खहरे खोला र एक तिर चितवन राष्ट्रिय निकुञ्जले घेरेको छ। यही ठाउँमा बोटे समुदायका ६० घरधुरी बसोबास गर्दछन्। यी मध्ये अधिकांशको घरमा शौचालय छैन।

सोही ठाउँका लक्ष्मण बोटे रकम अभावका कारण शौचालय बनाउन नसकिएको बताउँछन्।

‘शौचालय त हामीलाई धेरै आवश्यक हो। रातीमा दिसा पिसाब लागे केटाकेटी बाहिर निस्कन डराउँछन्,’ भारतमा मजदुरी गरेर भर्खर घर फर्किएका बोटेले स-साना दुइटी छोरी देखाउँदै भने ‘दिसा-पिसाब गर्न निस्कँदा उनीहरुलाई कतिखेर जनावरले आक्रमण गर्ने हो भन्ने डर मात्र लागिरहन्छ।’

पाण्डवनगरमा बाघ, भालु, गैंडा, हात्ती लगायतका जङ्गली जनावर आउने गर्दछन्। यहाँ गत पुस महिनामा मात्र सुतिरहेको समयमा हात्ती आएर एक जना वृद्धलाई घाइते बनाएको थियो।

लक्ष्मणका अनुसार पाण्डवनगरमा ३५ घरमा शौचालय छैन। गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गाउँविकास समिति हुँदा नै २०६८ सालमा यहाँ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो।

त्यसको १३ वर्ष बितिसक्दा पनि केही बस्तीमा शौचालय भेटिँदैनन्। पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष राजकुमार पाठक बोटे समुदायमा एक पटक शौचालय दिए पनि उनीहरुले प्रयोग नगरेको बताउँछन्।

‘एकटपक नगरपालिकाले प्यानहरू दिएको थियो। उहाँहरुले बनाउनुभयो भएन थाहा भएन’–उनले भने।

माडी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर– २ का वडाध्यक्ष डण्डपाणी पौडेलले माडीका दलित, बोटे र चेपाङ बस्तीमा शौचालय नभएको स्वीकार गरे।

उनका अनुसार कुशुमखोलाबाट बसाइँसराई गरेर झरेका स्थान परुई, सितलपुर, आँपटोल स्वामिटोलमा पनि शौचालय छैन।

माडी नगरपालिकाले प्रत्येक वर्ष शौचालय बनाउनका लागि बजेट विनियोजन गरिरहेको छ। यस वर्ष पनि वडाहरूले आवश्यकता अनुसार शौचालय निर्माणका लागि बजेट विनियोजन गरेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताइन्।

‘पुरानो बस्तीमा शौचालयको त्यति समस्या होइन। बसाइसराइ गरेर आएका क्षेत्रमा बढी समस्या छ,’ प्रमुख महतोले भनिन् ‘कुशुमखोलाबाट आएका व्यक्तिहरूले घर पक्की बनाउने र शौचालय बनाउन ध्यान नदिँदा समस्या छ।’

नगरपालिकाले माथि केहीले बारेर बनाए पनि खाल्टो भने प्यान राखेर बनाउनुपर्ने मापदण्ड बनाएको छ। शौचालय नभएका स्थानमा अनुगमन गरेर आगामी दिनमा शौचालय बनाइदिने उनले बताइन्।

२०७८ सालको जनगणनाअनुसार चितवनमा २ हजार ६३६ घरधुरीमा शौचालय छैन। घरधुरीको अनुपातमा चितवनमा १ दशमलव ५ प्रतिशतमा शौचालय छैन। तर माडी नगरपालिकामा अझै ५ दशमलव ९ प्रतिशत घरले शौचालय बनाएका छैनन्। यहाँ ६०१ घर अझै शौचालय विहीन छन्।

शौचालय नहुँदा विभिन्न प्रकारका सर्ने रोगहरू समस्या समेत हुने गर्दछ। नारायणी सामुदायिक अस्पतालका फिजिसियन डाक्टर किशोर गौतमका अनुसार शौचालयको अभावले खुल्ला स्थानमा दिसा, पिसाब गर्दा टाइफाइट, होपोटाइसिस ए र ई, आउ, हैंजा, झाडापखालालगायत रोगको सङ्क्रमण फैलिने भएकाले सबैले शौचालय बनाउनुपर्ने बताउँछन्।

‘खुल्ला दिसा पिसाबले विभिन्न रोगहरू लाग्छन्। फुड पोइजनको समस्या हुन्छ,’ उनले भने ‘वातावरण समेत फोहोर हुन्छ।’

२०७६ साल असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई तामझामका साथ खुला दिशामुक्त देश घोषणा गरेका थिए। तर नेपालका ४.५ प्रतिशत जनसङ्ख्या अझै शौचालयको पहुँच बाहिर रहेको राष्ट्रिय जनगणना २०७८को तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित: १० फाल्गुन २०८१ २२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App