वनचाहर नेपालमा पाइने एक आकर्षक मध्यम आकारको चञ्चल र फुर्तिलो चरा हो। टाउको, पखेटा र पुच्छरमा हुने मनमोहक रङ र ढाँचा, जसले यसलाई सुन्दर देखाउँछ। शरीरको पछाडिपट्टि र पखेटामा सुनौला खैरा र काला धर्सा हुन्छन्, जसले यसमा प्राकृतिक सुन्दरता थप्छ।

यो मुख्य रूपमा नेपालको मध्यपहाडी र उच्च पहाडी जंगल (२०००–३५०० मिटर उचाइ) मा पाइन्छ। विशेषगरी यसलाई सल्लाघारी, बाँसघारी, चौडीपाते जंगल र बाँझो पहाडी भूभागमा भेट्न सकिन्छ। यो मुख्यतः नेपाल, भारत, भुटान र दक्षिणपूर्व तिब्बत क्षेत्रमा पाइन्छ।

यो सानो झुन्डमा बस्न रुचाउने, आवाज कर्कस नभई सुरिलो र मधुरो स्वरमा गीत गाउने, सर्वाहारी पक्षी हो। जसको मुख्य आहारा साना किरामाकुरा, फट्याङ्ग्रा, गुँडमा हुने किरा र विभिन्न वनस्पति, फलफूल, बिउ र साना पात हुन्।

जंगल मासिँदै गएको कारण यसको प्राकृतिक वासस्थान विनाश हुँदै गएकाले भविष्यमा यसको संख्या घट्न सक्ने सम्भावना छ। यो तस्बिर ललितपुरको फुल्चोकीमा खिचिएको हो।
प्रकाशित: ३ फाल्गुन २०८१ ११:५७ शनिबार