पूर्व उपकुलपतिहरूले काठमाडौं विश्वविद्यालय (केयु) मा उपकुलपति नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन्।
उनीहरूका अनुसार उपकुलपति नियुक्तिका लागि गठित खोज तथा सिफारिस समितिले २०८१ पुस १८ गते पहिलो चरणको दरखास्त आह्वान गर्दा १६ जनाले आवेदन दिएका थिए।
तर, समितिले माघ १८ मा पुनः दरखास्त आह्वान गर्दा थप चार जनाको आवेदन पर्यो। यसपछि समितिले दुवै चरणका आवेदकहरूमध्ये तीन जनाको नाम सिफारिस गरे पनि सो सिफारिसलाई फिर्ता पठाइएपछि उच्च शिक्षासँग सम्बन्धित व्यक्ति तथा निकायहरू सशंकित बनेका छन्।
नेपालको उच्च शिक्षामा काठमाडौं विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पूर्व उपकुलपतिहरू केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीन प्रकाश जङ्ग शाहले राजनीतिक हस्तक्षेप बन्द गरी तत्काल उपकुलपति नियुक्त गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
प्रकाशित: २९ माघ २०८१ १९:५९ मंगलबार