१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध पाँचौं मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध पाँचौं भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले पौडेललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा तीन करोड आठ लाख ५० हजार रूपैयाँ बिगो मागदाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीविरुद्ध यसअघि संयुक्त र एकल गरी चारवटा भ्रष्टाचार मुद्दा दर्ता भइसकेका छन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहेका बेला ठेकेदारसँग बैंक खातामै घुस लिएको प्रमाण रहेको दाबीसहित अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो। आव २०७४÷७५ मा आह्वान गरिएको बोलपत्र सप्लाईको उपकरण खरिदका क्रममा एफ फाइभ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दीपक आनन्दको मिलेमतोमा उनले दररेटमा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

सोही मुद्दामा दीपक आनन्दलाई पनि पौडेलकै बराबर बिगो मागदाबीसहित संयुक्त रूपमा आरोपपत्र दर्ता गरिएको छ। अख्तियारले दुवैजनालाई बराबर बिगो मागदाबी गरे पनि पौडेल सार्वजनिक ओहोदामा रहेकाले थप सजाय माग गरिएको छ। दुईजनाबीचको बोलपत्रमा गरिएको मिलेमतोबारे पनि आरोपपत्रमा उल्लेख छ।

तत्कालीन कार्यकारी निर्देशक पौडेलले मिलेमतोमा बोलपत्र तयार गरी प्रस्तावसमेत स्वीकार गरेको आरोपपत्रमा दाबी छ। दुवैजनाको मिलोमतोमा तीनवटा कम्पनीबाट कोटेसन आएको बनाएर देखाइएको, त्यसैका आधारमा मातहतका कर्मचारीहरूबाट स्पेसिफिकेसन तयार गर्न लगाइएको र लागत अनुमान स्वीकृत गरी बोलपत्र आह्वान गरेको अख्तियारको दाबी छ।

 वास्तविक मूल्य अमेरिकी डलर ६ लाख ७६ हजार रहेको ठेक्कामा पौडेललाई दुई लाख ८० हजार डलर अर्थात् तीन करोड आठ लाख ५० हजार रूपैयाँ घुस ठेकेदार कम्पनीले दिएको भेटिएको अख्तियारले आरोपपत्रमा उल्लेख छ। त्यो रकम सिंगापुरको बैंक खातामा जम्मा भएको अख्तियारको दाबी छ।

यसअघिको नेसनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा पौडेललाई नौ वर्ष कैद सजाय ठहर भइसकेको छ। विशेष अदालतले पौडेललाई २३ करोड २६ लाख ५८ हजार रूपैयाँ बिगो र त्यति नै रकम जरिबाना भराउने फैसला गरेको थियो। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई गत वैशाख ७ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

अख्तियारले पौडेलविरूद्ध २३ करोड रूपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै अकुत सम्पत्तिसम्बन्धी बेग्लै भ्रष्टाचार मुद्दा पनि दर्ता गरेको छ। उनी सूचना प्रविधिसँग सम्बन्धित अन्य भ्रष्टाचार प्रकरणको मुद्दामा पनि मुछिएका छन्। हाल उनी थुनामा छन्।  

प्रकाशित: २५ माघ २०८१ ०८:४० शुक्रबार

#nagarik # Nepal Telecom # Commission for Investigation of Abuse of Authority