१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

अमेरिकामै अन्डा चोरी

यस्ताे पनि!

अमेरिकामा पछिल्लो समय अण्डाको चोरी उधुमै बढेको छ। बीबीसीका अनुसार, पेन्सिलभेनियामा चोरहरूले अन्डा चोर्ने धन्दा नै शुरु गरेका छन्।

त्यहाँको एउटा पसलबाट एक लाखभन्दा बढी अन्डा चोरी भएको प्रहरीले जनाएको छ। अहिलेको मूल्यमा एक लाख अन्डाको कम्तीमा ४० हजार डलर पर्छ। जब अन्डा ग्रिनक्यासलस्थित पिट एन्ड गेरिजको पसलमा पुग्यो, चोरहरूले निकै चलाखीपूर्ण तरिकाले अन्डा चोरेको प्रहरीले जनाएको छ।

अहिले अमेरिकामा अन्डाको मूल्य आकाश छुने गरी बढेको छ। त्यहाँ बर्ड फ्लू महामारीले अन्डा उत्पादन घटेका कारण यस्तो अवस्था आएको जनाइएको छ। अमेरिकामा अन्डा दैनिक खान्कीमा अनिवार्य बन्न पुगेको छ। भान्सामा यो बिना अपूरो ठानिने भएका कारण यसको माग उच्च रहेको र उत्पादन घटेका कारण यसको चोरी बढेको बताइएको हो।

अमेरिकाभरि नै शृंखला पसल वाफल हाउसले पनि आफूले बेच्न पसलहरूमा अन्डाको मूल्य बढाएर बेच्न थालेको छ। अमेरिकी सरकारले हालै जारी गरेको तथ्यांकअनुसार, गत वर्षको तुलनामा अन्डाको मूल्य ६५ प्रतिशतले बढेको छ। कृषि विभागको अनुमानअनुसार यो वर्षभरि अर्थात् २०२५ भरिमा अण्डाको मूल्य अझै २० प्रतिशतले बढ्नेछ।

मंगलबार वाफल हाउसले ग्राहकहरूले प्रतिअन्डा ०.५० सेन्ट अतिरिक्त शुल्क थप्ने घोषणा गरेको छ। अन्डाको उत्पादन कम र माग बढी भएका कारण अस्थायी रूपमा आफूहरूले यसको मोल बढी राख्नुपरेको कम्पनीले जनाएको छ।

अमेरिकामा सन् २०२२ देखि बर्ड फ्लू महामारी सुरु भएको थियो। अहिले भने सम्पूर्ण अमेरिकामा फैलिएको छ। डिसेम्बरमा मात्र अन्डाको मूल्य आठ प्रतिशतले बढेको थियो। सन् २०२३ डिसेम्बरमा एक कार्टुन अन्डाको औसत मूल्य २.५१ डलर थियो भने एक वर्षपछि यो  ४.१५ पुग्यो। यो वृद्धिले केही पसलहरूमा अन्डाको अभाव पनि देखिएको छ।

बर्ड फ्लू महामारी अमेरिकामा चरा, गाई र स्तनधारीहरूमा फैलिएको छ तर अन्डा खाएकै कारण मानिसहरूमा संक्रमण हुने कुनै सम्भावना भने छैन। अन्डा चोर्नेहरूले यो महामारीको फाइदा उठाउँदै यसरी ठूलो संख्यामा डकैती गरेको पहिलो पटक भएको प्रहरीले जनाएका छन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २५ माघ २०८१ ०७:०९ शुक्रबार

# Yasto Pani! # Egg theft in America