१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बन्द हटेसँगै सामान्य अवस्थामा फर्कियो पूर्वी नेपाल

पाथीभरा क्षेत्रको केवलकार निर्माणसम्बन्धी विवाद समाधानका लागि सरकार र ‘नो केवलकार’ पक्षधर आन्दोलनरत समूहबीच ६ बुँदे सहमति भएपछि पूर्वी नेपालमा जनजीवन सामान्य बन्दै गएको छ।

सहमति भएपछि मंगलबार रातिदेखि नै यातायातका साधनहरू सञ्चालनमा आउन थालेका छन्। बन्दका कारण रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ जान थालेका छन् भने नियमित सूचीअनुसारका यातायात सेवा बुधबार बिहानदेखि पूर्ववत् रूपमा सञ्चालनमा आएका छन्।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाका अनुसार यातायात सञ्चालन भएसँगै दैनिक उपभोग्य वस्तुहरूको आयात–निर्यात पनि सामान्य अवस्थामा फर्कने विश्वास गरिएको छ। यातायात बन्दका कारण यहाँ दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना हुन थालेको थियो।

गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको घटनापछि आन्दोलनरत समूहले माघ १५ गतेदेखि मेचीराजमार्ग, तमोर करिडोर र ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्दको आह्वान गरेको थियो। माघ २२ गते बार्तामा सहमति कायम हुनुअघि अरुण पूर्वका ९ जिल्लामा यातायात बन्द गरिएको थियो।

सोमबार र मंगलबार चलेको बार्तामा ६ बुँदे सहमति जुटेसँगै माघ २७ गते पुनः बार्ता गर्ने सहमति भएको छ। सहमतिअनुसार पाथीभरा केवलकारको सब-स्टेशन माथिको कार्य स्थगित गरिनेछ भने स्टेशनको सन्दर्भमा आगामी बार्तामा विस्तृत छलफल हुने भएको छ।

प्रकाशित: २३ माघ २०८१ १५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App