भक्तपुरको ऐतिहासिक चाँगुनारायण मन्दिर जाने सडक निर्माणाधीन अवस्थामा छ। तर माटो ढुवानी गर्ने गाडीका कारण यो सडक अत्यधिक धुलाम्य बनेको छ। स्थानीयहरू धुलोका कारण स्वास्थ्य समस्या बढेको भन्दै आक्रोशित भएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार धुलोले दैनिक जीवन अस्तव्यस्त बनाएको छ। ‘पहिले साँघुरो सडकको समस्या थियो, अहिले विस्तारपछि धुलोले हैरान बनाएको छ,’ स्थानीय कृष्णबहादुर थापा भन्छन्। धुलोका कारण खोकी, दम, आँखाको संक्रमणजस्ता समस्या बढ्दै गएको स्थानीयको गुनासो छ।
भक्तपुरका इँटाभट्टाहरू सञ्चालनमा रहेकाले सडक भएर माटो ओसारपसार गरिने गरेको छ। यसकै असरले निर्माणाधीन सडक झनै धुलाम्य बनेको स्थानीयको भनाइ छ।
भक्तपुरको देकोचाबाट चाँगुनारायण मन्दिरसम्म पुग्ने भक्तपुर-चाँगु सडक ऐतिहासिक महत्वको छ। यो सडक भक्तपुरका चाँगु, झौखेल, छालिङ मात्र होइन, काठमाडौंको साँखु र वरपरका क्षेत्रलाई पनि जोड्ने मार्ग हो। तर, वर्षौंदेखि सुधारको पर्खाइमा रहेको सडक अहिले निर्माणाधीन अवस्थामा झनै कष्टकर बनेको छ।
२०८० सालदेखि बिस्तार भइरहेको भक्तपुर-चाँगु- साँखु सलम्बुटार सडकको काम अझै सकिएको छैन। पूर्वाधार विकास कार्यालय, काभ्रेपलाञ्चोक अन्तर्गत साढे आठ किलोमिटर लामो यो सडकको निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको छ।
जनताको समस्या समाधान नगरे आन्दोलनको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले धुलोका कारण स्थानीयलाई परेको समस्याप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
रास्वपा चाँगुनारायण समितिका अध्यक्ष रोशन थापाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायलाई तत्काल समाधानको पहल गर्न आग्रह गरे।
विज्ञप्तिमा भनिएको छ, ‘जनताको समस्या समाधान गर्न पहिलो चरणमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनेछौं। यदि समाधान नआएमा न्यायिक प्रक्रियामा जान बाध्य हुनेछौं।’
रास्वपाले स्थानीयको समस्या समाधान गर्न पहल गरिदिन अनुरोध गर्ने सबैलाई धन्यवाद दिंदै, जनताको आवाज बुलन्द बनाउनु नै पार्टीको प्राथमिकता भएको उल्लेख गरेको छ।
प्रकाशित: २१ माघ २०८१ १८:४५ सोमबार





