१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पाथीभरा केवलकार विवादमा आन्दोलनरत पक्षले खोज्यो राजनीतिक तहको वार्ता समिति

फाइल तस्बिर

पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि गठित समितिले समस्या समाधान गर्न नसक्ने भन्दै आन्दोलनरत पक्षले उच्च स्तरको राजनीतिक नेतृत्वको वार्ता टोली गठन हुनुपर्ने औंल्याएको छ।

आन्दोलनरत घटक मध्येको एक घटक किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले सरकारले वार्ताका लागि गरेको आवह्वान सकारात्मक भए पनि पाथीभरा क्षेत्र र केवलकारको निर्णय राजनीतिक तहबाट भएकोले जारी समस्या समाधान पनि राजनीतिक तहको वार्ता टोलीमार्फत हुनुपर्ने पक्षमा आफूहरू रहेको बताए। गत माघ १२ गते पाथीभरा क्षेत्रमा भएको झडपपछि उत्पन्न समस्या समाधानका लागि नेपाल सरकारको तर्फबाट गृह मन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका आवह्वान गरेको थियो।

वार्ता समिति पोलिटिकल लेभलबाट बन्नुपर्नेमा कर्मचारी तहबाट बनेकोले राजनीतिक तहको समितिसँग वार्तामा बस्ने पक्षमा आफूहरू रहेको एक्तेनले बताए। उनले वार्ताअघि ताप्लेजुङ र झापा सहितका जिल्लामा प्रहरी नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ता रिहा हुनुपर्ने, केवलकार निर्माण कार्यस्थलबाट निर्माण उपकरण र सुरक्षाकर्मी फिर्ता हुनुपर्ने सहितका अडान कायमै रहेको बताए।

माघ १५ गतेबाट आन्दोलनरत पक्षले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा यातायात बन्द गरेका उनीहरूले माघ २० र २१ गतेका लागि अरुण पूर्वका ९ जिल्लामा यातायात बन्दको आवह्वान गरेका छन्। माग पूरा नभए उनीहरूले अरुण पूर्वका ९ जिल्लामा आम हड्ताल समेतको घोषणा गरिसकेका छन्।

कोशी प्रदेश सरकारले वार्ताको आह्वान गर्दा समेत उनीहरूले संघीय सरकारको वार्ता टोलीसँग मात्र वार्तामा बस्ने बताएका थिए।

प्रकाशित: २१ माघ २०८१ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App