धर्मकर्ममा रुची राख्ने युवापुस्ता कमै छन्। संगीतमा पनि रक र पप लगायतका भर्सनमा रमाउनेको बाहुल्यता छ। भजन, चुड्का, लोकदोहोरी गीत भनेपछि पछिल्लो पुस्ता मुख खुम्च्याउँछ। तर, यही पुस्ताका बीच पोखराको मासबारस्थित मदरल्याण्ड माविले एउटा फरक टिम हुर्काइरहेको छ, जसले भजन गाएर सबैलाई नाचौंनाचौं बनाउँछ र नचाउँछ पनि।
पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविमा कक्षा ८ मा अध्ययनरत प्रज्जवल पहारी उक्त भजन टिमको नेतृत्व गर्छन। पहारीको नेतृत्वमा दशजनाको टिम तयार छ, जसले भजन गाएर धेरैलाई मन्त्रमुग्ध बनाउँछ। त्यत्तिमात्र नभई छमछम नचाउँछन् पनि। विद्यालयमा शुक्रबारदेखि चलिरहेको सांस्कृतिक उत्सवमा पहारी नेतृत्वको टिमले भजन सुनाए, उनीहरुको भजनले विद्यालयको कार्यक्रममा सहभागि अतिथि देखि अभिभावक, विद्यार्थी र शिक्षकहरु रमाउँदै नाचे।
‘मलाई भजन गाउने भनेपछि भित्रैदेखि मन खुसी हुन्छ। सानैदेखिको बानीले गर्दा होला, भजन गाउन पाए भोकतिर्खा मेटिन्छ,’ शनिबारको कार्यक्रममा भजन सुनाएपछि पहारीले भने, ‘म एक्लैको भरमा मात्र यो सम्भव दिएन। सबै साथीहरुले साथ दिएकोले हाम्रो टिम तयार भएको हो। फेरि सबैको रुची पनि हुनुपर्छ। भजन गाउने भनेपछि नाक खुम्च्याउने समाज हाम्रैमा छ। तर, हाम्रो टिम कुनैपनि बेला भजन गाउन एकजुट हुन्छ।’
विद्यालयका हरेकजसो कार्यक्रममा यो टिमले भजन पस्किने गरेका छन्, चाहे त्यो शिवरात्री होस् वा कृष्ण जन्माष्टमि, उनीहरु भजन गाउनका लागि वाद्यबाधनका सामाग्री बोकेर विद्यालय आउँछन। विद्यालयले पनि उनीहरुका लागि उस्तै माहोल बनाइदिएको छ। गायनसँगै मादल, खैजडी र मुजुरा बजाउन पनि यो टिमका सदस्यहरु उत्तिकै अब्बल छन।
‘तीनवर्षदेखि हामीले विद्यालयमा नियमित भजन गाईरहेका छौ। अग्रज दाइ दिदी, शिक्षक, अभिभावक सबैजना खुसी हुनुहुन्छ, हामीलाई भजन गाउँमा हौसला पनि दिनुहुन्छ, त्यसले गर्दा हामीमा झनै जाँगर चल्छ,’ पहारीले भने। टोली नेता पहारी सानोमा दोहोरी गाउन माहिर थिए। त्यसपछि भजन सुरु गरेका उनले भजन मार्फत संस्कृति जगेर्ना गर्न चाहेको बताए।
भजन टिमका अर्का सहभागी प्रतिक सुवेदी पनि भजनले बिर्सदै गएको संस्कारलाई बचाउन सघाउने बताउँछन्। ‘हामी विद्यालयमा मात्र होइन, अन्यत्र पनि भजन गाउन जान्छौ,’ उनले भने। उनीहरुका अनुसार पोखरामा केही दिन अघि भएको महायज्ञमा पनि यही टोली भजन गाउन पुगेको थियो। त्यस्तै विभिन्न कार्यक्रममा पनि उनीहरु भजन गाउन जान्छन। ‘शिवरात्री, कृष्ण जन्माष्टमी लगायतका चाँडपर्वमा त नियमित रुपमै गाउँछौ,’ उनले भने, ‘विद्यालयमा सांगीतिक कार्यक्रम भईरहँदा अरुभन्दा फरक शैलीको रन्को हाम्रो भजनले थप्ने गरेको छ।’

पछिल्लो पुस्ता भजन भन्दा अरुखाले संगीतमा रमाएको भएपनि भजन गाउने यो टोली आफ्नै क्षमताका लागि खुसी छन्। उनीहरु भन्छन, ‘हामीलाई विद्यालयमा साथीहरुले पनि हौसाएका छन्। भजन गाउने टोली भनेर कसैले पनि फरक नजर लगाएका छैनन। बरु, राम्रो गाउनुपर्छ भनेर हौस्याउँछन,’ सुवेदीले भने, ‘जो कोहीले भजन गाउन र भजनका बाद्यबाधनका सामाग्री बजाउन पनि जान्दैन। लय, ताल मिलाउनु र संगीत भरेर प्रत्यक्ष सुनाउन सहज होईन । त्यस्तै शारिरीक हाउभाउ पनि देखाउनुपर्छ।’
छोराहरुको भजन अवलोकन गर्न विद्यालयमा आएका असिम सुवेदीका बुबा कृष्ण सुवेदी पनि छोराको कलादेखि छक्क परेको बताउँछन। ‘सबैतिर धर्मकर्म हराउँदै गएको छ। भजन सुन्ने पुस्ता नै देख्न छाडियो। तर, छोराहरुको यो समूहले विद्यालयसँगै पोखरा क्षेत्रमा भजनमा भिन्दै पहिचान बनाएको छ। यसले हामीलाई पनि खुसी तुल्याएको छ,’ उनले भने, ‘भजन गाउँने भनेपछि छोराहरु खुसीले हौसिन्छन। विद्यालयले पनि उनीहरुलाई उत्तिकै स्थान दिएको छ। सानैदेखि गाउन सिकेको भएर होला, उनीहरुलाई भजनमा रुची बढिरहेको छ।’
विद्यार्थीले भजनको रचना पनि आफै गर्छन। विद्यालयमा तीनदिने कार्यक्रम चलिरहँदा पहिलो दिनका लागि उनीहरुले स्वस्थानी ब्रतकथामा आधारित रहेर भजनको रचना गरेका थिए। शुक्रबार दोश्रो दिन विद्यालयकै बारेमा उनीहरुले भजन गाएका थिए। विद्यार्थीका लागि भजनको रचना कतिपय अवस्थामा विद्यार्थी आफैले गर्छन भने कहिलेकाँही शिक्षकले पनि गरिदिन्छन।
‘उनीहरुका लागि भजनको रचना गर्न हामी आफै पनि सघाउँछौ। धेरैजसो अवस्थामा उनीहरु नै रचना गर्छन,’ विद्यालयका शिक्षक हरि पौडेलले भने,‘भजन गाउनमा यो समूह अब्बल बनेको छ। जो कोहीले यस्तो प्रस्तुती दिन सक्दैन। उनीहरुको गायन र बजाउने कला देखेर सबैजना छक्क पर्छन।’ पौडेलकै नेतृत्वमा यो टिमले तीनवर्षदेखि नियमित रुपमा विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमका लागि तयारी गर्छन।
‘धार्मिक भजन त उनीहरुकै रचना हुन्छ। हामीले विद्यालयका लागि फरक रचना पनि गरिदिन्छौ। तर, भजन गाउने यो टोलीको उर्जा देखेर हामी नै छक्क पर्छाै।’ विद्यार्थीका अनुसार पोखरा महानरपालिका–६ को वडा कार्यालयले ती भजन गाउने टोलीका लागि बाद्यबाधनका सामाग्री जुटाइदिएको थियो। आवश्यक परेमा विद्यालयले पनि सामाग्री खरिद गरिदिने उनीहरुलाई आश्वासन दिईसकेको उनीहरुको भनाई छ।
विद्यालयका प्राचार्य डा. नारायण बराल विद्यालयले आयोजना गर्ने कार्यक्रममा धेरै अभिभावकको ध्यान तान्ने कार्यक्रम नै भजन बनेको बताउँछन्। ‘विद्यालयले कला संस्कृतिको जर्गेनामा उत्तिकै चाँसो दिएको छ। त्यही भएर हामीले भजनको यो टिमलाई हुर्काइरहेका छौ,’ बरालले भने, ‘परम्परागत कला संस्कृति सबैतिर लोप भईरहँदा यी बालकहरुले त्यसलाई जोगाउने प्रयास गरिरहँदा विद्यालयले त्यसमा झनै हौसला थपिरहेको छ।’
भजन गाउने र सुन्ने पुस्ताकै अभाव हुँदै गर्दा विद्यालयमा एउटा फरक टिम फरक पहिचान सहित तयार भएको उनले बताए। ‘रक, पपमा रमाउने पुस्ता धेरै छ। भजन सुन्ने र गाउने नयाँ पुस्ता छैन। तर यो समूहमार्फत विद्यालयले विद्यार्थीमा भजनको महत्व र शैलीबारे ज्ञान फैलाएको छ,’ उनले भने, ‘भजन टोलीको उर्जाले हामीलाई पनि निकै नै हौसला थप्ने गरेको छ। अरु भन्दा फरक शैलीले पस्कने हुँदा यसले धेरैको मन जितेको पनि छ। सबैतिर यस्तै चाँसो दिने र फरक क्षमताको टिम तयार पार्ने हो भने संस्कृति जोगाउन केही सहज हुन सक्छ।’
प्रकाशित: १९ माघ २०८१ १७:५० शनिबार