अनलाइनको माध्यमबाट जुवा खेलाई ठगी गरिरहेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिका– १ शिवपुर स्थित होटेल हाईवेबाट ३ जना भारतीय पक्राउ परेका छन् ।
प्रहरीले चलाएको स्वीप अप्रेसनको क्रममा होटेल चेकजाँच गर्दा २४ थाना मोबाइल, ल्याब टक लगायतका सामाग्री सहित उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेहरूमा भारत राजस्थान जयपुर ग्राम घर नम्बर २५ गोबरधनधाम लोनियाबासका ३० वर्षीय बिजेन्द्र कुमार सैनी, दोसावान्ता कुईग्रामका २२ वर्षीय मोनु सैनी र ३५ वर्षीय नन्दलाल सैनी रहेको निमित्त प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।
उनीहरुले मेस्क अप्लीकेशनबाट बिटक्वाईन÷युएसडीटी को माध्यमबाट सट्टेबाजी र जुवा खेलाई ठगी गरिरहेको उनले बताए । उनीहरु सो होटलमा गत माघ ९ गते देखि भाडामा बस्दै आएका थिए । उनीहरूबाट विभिन्न कम्पनीका २४ थान मोबाइल डेल कम्पनीको ल्यापटप, मल्टिमिडिया २ थान, चार्जर ६ थान बरामद भएको थियो ।
उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ को दफा २६२ को क बमोजिम अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले बताए ।
प्रकाशित: १८ माघ २०८१ १८:३८ शुक्रबार

