पोखरा क्षेत्रमा जथाभावि वर, पिपल र समीका पुराना रुख काटिएको भन्दै आलोचना भईरहेको बेला डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगरपालिकासँग रुख काट्न कसैले अनुमति लिएको वा नलिएको भन्दै प्रष्टिकरण मागेको छ। पोखरा महानगरले भने कसैलाई पनि रुख काट्ने अधिकार नभएको भन्दै कटान गर्नेलाई कारवाही गरि छाड्ने प्रतिवद्धता जनाएको छ।
महानगरका अनुसार पोखरा–१४ मझेरीपाटन क्षेत्रमा पुराना रुखहरु धमाधम कटान भईरहेका छन्। तर, ती रुख काट्न कसैले पनि अनुमति नलिएको महानगरपालिकाले बताएको छ। मझेरीपाटनका स्थानीयबासि समेत रहेका पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्रका प्राध्यापक हेमन्त ढकालका अनुसार अहिले त्यस क्षेत्रमा बढेमानका पुराना रुख ठुटै पारेर काटिएको छ।
‘केहीदिन लगातार रुख काटिएपनि हामीले पोखरा महानगरलाई गुहारेका थियौ। धेरै प्रयासपछि बल्ल अहिले रुख काट्न रोकिएको त छ, तर, जथाभावि रुपमा कटान गर्नेलाई कारवाही भएको छैन,’ ढकालले भने। ढकालका अनुसार त्यस क्षेत्रका सातवटा पुराना रुख ठुटै पारेर काटिएको छ । ‘मैले दिनहुँ देखिरहेकै रुख हो, बढेमानको पिपलको रुख छिमल्ने निहुँमा काटेर ठुटै पारिएको छ,’ ढकालले भने, ‘करिब ६०–७० वर्ष पुराना ती रुख काट्दा मन पोल्यो, अनि स्थानीय तहलाई गुहारेका हौ।’
ढकालका अनुसार काटिएका ती रुखमध्ये केहीमा चौतारा पनि थिए। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टिको खण्डमा रहेको उक्त बस्तीका सातवटा रुख काटिएको छ। ती मध्ये दुइवटाको काँटछाँट सही तरिकाले गरिएको भएपनि अरु ठुटै पारिएको उनले बताए। ढकालका अनुसार काटिएका समि, वर र पिपलका पुराना रुखहरु हुन। ती रुखमा चराका बासस्थान पनि हुने गरेको उनले बताए। त्यसबाहेक पोखराको लेकसाइड क्षेत्रमा पनि रुख कटान गरिएको छ।
ढकालका अनुसार बढेमानका झुप्प परेका ती रुखमा काग, चील, उल्लु, डांग्रे लगायतका चराचुरुंगीले बासस्थान बनाउँथे। मझेरीपाटनस्थित मेरो नेपाल युवा क्लवका सल्लाहकार समेत रहेका ढकालले रुखका हाँगा छिमल्ने निहुँमा ठुटो मात्र बाँकी राखिएको बताए। ‘टुप्पो र हाँगा भन्दाभन्दै फेँद काटिएको छ। अरु ठाउँमा चौतारीमा पनि आँखा लागेको जानकारी पाएका छौ। रुख कटानलाई सहन सकिन्न,’ उनले भने।
रुख कटानबारे क्लवले जानकारी गराएपछि डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगरलाई यसबारेमा सोधपुछ गरेको थियो। डिभिजन वन कार्यालय कास्कीका डिभिजन वन अधिकृत कोमलराज काफ्लेले पोखरा–१४ मा धमाधम रुख काटिएपछि पोखरा महानगरपालिकालाई केहीदिन अघि पत्राचार गर्दै सोधपुछ गरेको जानकारी दिएइन।
‘पोखरा क्षेत्रभित्र वर, पिपल, समि प्रजातीका रुख काटेर चौतारे मास्ने काम गरेको भन्दै रुख कटान गर्नुको कारण सोधिएको छ,’ उनले भने, ‘यसबारे महानगरसँग जवाफ मागिरहेका छौ। अहिलेसम्म केही जानकारी आएको छैन।’
काफ्लेका अनुसार गण्डकी प्रदेशको वन ऐन २०८० र नियमावली २०८१ अनुसार अनुसार रुख काट्नका लागि डिभिजन वन कार्यालयसँग अनुमति लिनुपर्ने हुन्छ। त्यसको प्रक्रिया भने महानगरले अघि बढाउनुपर्ने हुन्छ। ‘राष्ट्रिय वन क्षेत्रभित्र नपरि पोखरा सहरभित्रका रुख काटिएकोले सम्बन्धित स्थानीय तहले त्यसको उठान गरेर उनीहरुको कानुन आकर्षित हुने भए त्यो अनुसार कारवाही हुनुपर्छ अन्यथा डिभिजन वन कार्यालयलाई कारवाहीका लागि पठाउनुपर्छ,’ उनले भने, ‘हामी वन कानुन लगाउन तयार छौ।’
रुख कटानको छानविनको प्रक्रिया महानगरले सुरु गर्नुपर्ने उनले बताए। रुख काट्नै पर्ने अवस्थामा डिभिजन वन अधिकृत संयोजक रहेको समितिमा जानकारी गराउनुपर्ने र समितिले सिफारिस गरेपछि मात्र वन कार्यालयले रुख काट्न अनुमति दिने भएपनि अहिले त्यो नभएको उनले बताए। ‘पोखराको हकमा अहिलेका लागि तत्कालै पोखरा महानगर आफैले कारवाही गर्ने हो। यदी महानगरले नसक्ने भएमा वन कार्यालयलाई जिम्मा दिनुपर्छ,’ उनले भने।
पोखरामा अहिले काटिएका रुखको स्वरुप देख्दा मनै चसक्क हुने उनले बताए। ‘वन वातावरणप्रेमीका हिसाबले हाल काटिएका रुखको स्वरुपले मन दुखेको छ। काटिएको रुख भोलि बिहान पलाउँछ भन्नु फरक तर्क हो। तर, चाहिने भन्दा बढी नै काटिएको छ, त्यसरी ठुटो पार्न पाइँदैन,’ उनले भने, ‘त्यत्तिका रुख बन्न कतिवर्ष लाग्छ भन्नेमा ध्यान कसैले दिएनन।’ उनका अनुसार रुख काट्नेलाई बिगो असुल गर्ने र १० हजार रुपयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै हुन सक्ने प्रवाधान छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा–१४ मा रुख काट्न कसैले अनुमति नलिएको बताए। ‘जथाभावि रुख कटान भएको छ। रुख कटानबारे महानगरले आन्तरिक रुपमा छानविन गरिरहेको छ। दोषिलाई कारवाही हुन्छ,’ आचार्यले भने, ‘पोखरा महानगरले ‘ग्रिन पोखरा’ भनेर विरुवा रोप्ने अभियान चलाउँदै गर्दा रुख कटान हुनु दुर्भाग्य हो।’ रुख कटानको अनुमति कसैले नलिएको र रुखका कारण क्षति हुने अवस्था भएमा महानगर आफैले काटछाट गर्ने भएकोले जथाभावि गर्न नपाइँने उनले बताए। ‘घर भन्दा पुराना रुख ठुन्काइएको छ। ती रुख तयार गर्न सानोतिनो मेहनतले हुँदैन,’ उनले भने, ‘जथाभावि रुपमा रुख कटान गर्नु गैरकानुनी काम हो। महानगरको टिमले अध्ययन गरेपछि दोषिलाई कारवाही हुन्छ।’
प्रकाशित: १५ माघ २०८१ १८:०० मंगलबार