दुई दिनअघि इटहरी उपमहानगरपालिका कार्यवाहक मेयर संगीताकुमारी चौधरीले प्रशासन शाखा प्रमुखलाई दुर्व्यवहार गरेको विषयमा ४८ घण्टाभित्रमा माफी माग्नुपर्ने कर्मचारीहरूले अल्टिमेटम दिएका छन् । तोकिएको अवधिभित्र माफी नमागे थप आन्दोलन चर्काउने मेयर हेमकर्ण पौडेललाई आइतबार बुझाएको ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
कर्मचारीहरूले आइतबार बिहान कार्यालय खुलगेलगतै बाहिरै बसेर केहीबेर काम रोकेका थिए । कार्यवाहक मेयर चौधरीले शुक्रबार प्रशासन शाखाका प्रमुख सञ्जिव खड्कामाथि दुर्व्यवहार गरेको विषयलाई लिएर कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
इटहरीका मेयर हेमकर्ण पौडेल पारिवारिक कामले भारत गएपछि उपमेयर चौधरीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । कार्यवाहकको जिम्मेवारी पाएकी चौधरीसहित एमालेबाट विजयी भएका केही वडाध्यक्षसहित प्रशासन शाखामा पुगेर शुक्रबार खड्कामाथि दुर्व्यवहार गरेकी थिइन् । चौधरीले प्रशासन शाखामा तालाबन्दी समेत गरेकी थिइन् । कर्मचारीहरूले प्रशासन शाखामा लगाएको ताला भने आपसी सहमति र संवादबाट खोल्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
दुर्व्यवहार गर्नुको कारणमा खड्काले केही दिनअघि सरुवा गरिएका कर्मचारीलाई सम्बन्धित वडामा हाजिर हुन ताकेता गरेको र वडाहरूको इन्टरनेट सर्भर डाउन गराएको विषय भएको सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा उल्लेख गरेकी छन् । तर, प्रशासन शाखाका प्रमुख खड्काले आफूमाथि योजनाबद्ध रुपमा दुर्व्यवहार भएको बताउँदै आएका छन् । उनले आइतबार कर्मचारीहरूले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै भनेका छन्, ‘कर्मचारीका हिसाबले आफूले सिस्टम रहेर काम गर्दा पनि प्रक्रिया, विधि र नियम नबुझेर आफूमाथि नियोजित दुर्व्यवहार भएको हो ।’
मेयर पौडेल भने शनिवार फर्केर आइतबारदेखि उपमहानगरपालिका पुगेका हुन् । इटहरीमा कांग्रेस र एमालेबाट विजयी जनप्रतिनिधिका कारण बेला बेलामा विवाद उत्कर्षमा पुग्ने गरेको छ । यहाँ कांग्रेसबाट मेयरसहित पाँच वटा जितेको छ भने एमालेबाट उपमेयरसहित १५ वडा वडाध्यक्ष जितेको छ ।
प्रकाशित: १३ माघ २०८१ १८:०० आइतबार





